Home मुख्य समाचार शिक्षा विकास इकाईमा शिक्षकको धर्ना

शिक्षा विकास इकाईमा शिक्षकको धर्ना

हेटौँडाः संघीय संसदमा पेश भएको विद्यालय शिक्षा विधेयकमा कमजोरी औँल्याउँदै ती कमजोरी सुधारको माग गर्दै शिक्षक महासंघले मंगलबार शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरको कार्यालय परिसरमा धर्ना दिएका छन् । मंगलबार जिल्लास्तरीय विरोधको कार्यक्रमअन्तर्गत इकाईमा धर्ना दिएको हो । यसअघि शिक्षक महासंघले देशभरका पालिकामा धर्ना दिएका थिए ।

बिहान ११ बजेदेखि दिनको २ बजेसम्म धर्नापछि शिक्षक महासंघ मकवानपुरका अध्यक्ष जीधराज ढकालले शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरका प्रमुख दीनानाथ गौतमलाई ज्ञापनपत्र बुझाउनुभयो । धर्ना कार्यक्रमकै बीचमा शिक्षक महासंघका घटक विभिन्न संगठनका जिल्ला अध्यक्षहरुले शिक्षा विधेयकमा सुधारको आवश्यकताका विषयमा आआफ्ना धारणा राखेका थिए । २ बजे धर्ना सकिएपछि ज्ञापनपत्र बुझाइएको हो ।

शिक्षक महासंघले संघीय सरकारसँग भएका ३० बुँदे र ५१ बुँदे सहमतिलाई विद्यालय शिक्षा विधेयकमा समावेश गर्न माग गरेको छ । तेस्रो चरणको आन्दोलनअन्तर्गत शिक्षक महासंघले भोलि बिहिबार प्रदेशस्तरीय कार्यक्रम गर्दैछ । शिक्षक महासंघको नेतृत्वमा सातै प्रदेशका शिक्षा मन्त्रालयमा धर्ना दिने कार्यक्रम रहेको नेपाल राष्ट्रिय शिक्षक संगठन मकवानपुरका अध्यक्ष श्रीराम दहालले जानकारी दिनुभएको छ ।

Exit mobile version