हेटौंडा अस्पतालको तस्विर ।

हेटौँडाः प्रदेश सरकारमातहतको हेटौँडा अस्पताललाई प्रदेश सरकारले १ सय ३० जना करार कर्मचारी दिने निर्णय गरेको छ । अस्पतालको माग अनुसार स्वास्थ्य मन्त्रालयले प्रस्ताव पेश गरेपछि आइतबारको मन्त्री परिषद्बाट अस्पताललाई करार कर्मचारी दिने निर्णय भएको हो । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमातहतको हेटौंडा अस्पतालमा यसअघि प्रदेश सरकारले बजेट कटौति गरको थियो ।

बजेट कटौति भएपछि प्रतिष्ठान मातहतका २ सय १४ जना कर्मचारी साउन १ गतेदेखि पदमुक्त भएका थिए । ति कर्मचारीहरु कोहि भोलिनटेयरमा काम गर्दै छन् भने कोहि काम गर्न छाडेका छन् । यता अस्पतालको माग बमोजिम अस्पतालले कर्मचारीका लागि ५ करोड बजेट विनियोजन गरिसकेको थियो । मन्त्री परिषद्बाट करारका कर्मचारी नियुक्तिका लागि स्वीकृति दिने निर्णय भएको पत्र स्वास्थ्य मन्त्रालमा पुगिसकेको बताइएको छ ।

अस्पतालले मेडिकल अधिकृत १५ जना, नर्स ४५ जना, सुरक्षागार्ड ११ जना, अस्पताल सरसफाईमा ११ जना, कम्प्युटर अपरेटर ८ जना, होमियोपेथिकमा १ जना, रेडियोग्राफि टेक्नोलोजिस्टमा ४ जना, माइक्रो बायोलोजिस्ट १ जना, हेल्थ असिस्टेन्ड १० जना, ल्याव टेक्निसियन ७ जना, फार्मेसी सहायक ८ जना, रेडियोग्राफर ५ जना, एनेस्थेटिक सहायक २ जना, मेडिकल रेकर्ड सुपरभाइजर २ जना गरी १ सय ३० जना कर्मचारीको मागअनुसार प्रदेश सरकारले करारमा कर्मचारी भर्नाका लागि स्वीकृति दिएको हो ।

अस्पतालमा एक महिनाभित्र कर्मचारीको पदपूर्ति हुने स्रोतले जनाएको छ । हेटौँडा अस्पतालका मेडिकल सुपरिटेन्डन्ट डा. रामचन्द्र सापकोटाले मन्त्रिपरिषद्बाट स्वीकृत करार दरबन्दीका जनशक्ति छिट्टै नियुक्त गरिने जानकारी दिनुभएको छ । पछिल्लो समय हेटौंडा अस्पतालको सेवा विस्तार हुँदै आएको छ ।