Home मुख्य समाचार मकवानपुरगढीका विद्यालयको सघन अनुगमन गरिने

मकवानपुरगढीका विद्यालयको सघन अनुगमन गरिने

हेटौँडाः भर्ना भएका विद्यार्थीको संख्याको तुलना प्रथम त्रैमासिक परीक्षामा उल्लेख्य संख्यामा विद्यार्थी अनुपस्थित भएको पाइएपछि मकवानपुरगढी गाउँपालिकाको शिक्षा शाखाले विद्यालयको सघन अनुगमन गर्ने भएको छ । असार २१ गतेदेखि सुरु भएर असार २९ गते सम्पन्न भएको प्रथम त्रैमासिक परीक्षामा ८ सय ५५ जना विद्यार्थी अनुपस्थित रहेको तथ्यांक सार्वजनिक भएको थियो ।

गाउँपालिकाको शिक्षा शाखाका प्रमुख राम घलानले अनुपस्थित हुने विद्यार्थीको संख्या अस्वभाविक र उल्लेख्य रहेकोले सघन अनुगमन गर्ने तयारीमा रहेको जानकारी दिनुभयो । प्रथम त्रैमासिक परीक्षा सकिएसँगै विद्यालयमा वर्षे विदा भएकोले साउन २८ गतेदेखि विद्यालय सुचारु भएपछि अनुगमन गरिने शिक्षा शाखा प्रमुख घलानले जानकारी दिनुभयो । चालु शैक्षिक सत्रमा पालिकामा ५ हजार ७ सय ५ जना विद्यार्थी भर्ना भएका थिए । प्रथम त्रैमासिक परीक्षामा ४ हजार ८ सय ५० जना विद्यार्थी सहभागी भएको घलानले बताउनुभयो ।

विद्यार्थी संख्याका आधारमा विविध प्रकारका अनुदान प्रदान गरिने भएकोले कतिपय विद्यालयले विद्यार्थीको भर्ना दर बढाएको हुन सक्ने अनुमान समेत गरिएको छ । मकवानपुरगढी गाउँपालिकामा ३७ वटा विद्यालय रहेका छन् । मकवानपुरगढी गाउँपालिकामा १२ कक्षासम्म अध्यापन हुने एक प्रविधिकसहित ४ वटा विद्यालय रहेको छ । यस्तै, १० कक्षासम्म अध्यापन हुने ६ वटा, ८ कक्षासम्म अध्यापन हुने ६ वटा विद्यालय र प्रावि तहका २२ वटा विद्यालय रहेका छन् ।

Exit mobile version