हेटौँडाः हेटौँडा–३, बसामाडीको खानेपानी आयोजना हेटौँडा खानेपानी व्यवस्थापन बोर्डलाई हस्तान्तरण गरिएको छ । खानेपानी आयोजना बोर्डमा हस्तान्तरण भएसँगै स्थानीयले मासिक १० हजार लिटर खानेपानी निःशुल्क पाउने भएका छन् ।
बसामाडीस्थित मिलन टोल विकास संस्थाको व्यवस्थापनमा सञ्चालन हुँदै आएको खानेपानी आयोजना बोर्डमा मंगलबार हस्तान्तरण भएको छ । हेटौँडा उपमहानगरपालिकाले हेटौँडा खानेपानी व्यवस्थापन बोर्डका उपभोक्तालाई मासिक १० हजार लिटर खानेपानी निःशुल्क उपलब्ध गराउँदै आएका कारण टोल विकास संस्थाको व्यवस्थापनमा सञ्चालित आयोजना बोर्डमा हस्तान्तरण गरिएको हो ।
एक सय ३८ वटा धाराबाट उपभोक्ताले खानेपानी उपभोग गर्दै आएको उक्त आयोजना बोर्डमा हस्तान्तरण भएपछि उपभोक्ताले अब न्यूनतम शुल्कमा खानेपानी उपभोग गर्न पाउने हेटौँडा खानेपानी व्यवस्थापन बोर्डका सूचना अधिकारी सञ्जय न्यौपानेले जानकारी दिनुभयो । टोल विकास संस्थाले खानेपानी वितरणको व्यवस्थापन राम्रोसँग गर्न नसकेका कारण उपभोक्ता समस्यामा पर्दै आएको उहाँले जानकारी दिनुभयो ।
खानेपानी आयोजना हस्तान्तरण कार्यक्रममा हेटौँडा उपमहानगरपालिकाका प्रमुख मीनाकुमारी लामाको प्रमुख आतिथ्य र उपप्रमुख राजेश बानियाँको विशेष आतिथ्य थियो । मिलन टोल विकास संस्थाका अध्यक्ष धनबहादुर घलानले हेटौंडा खानेपानी व्यवस्थापन बोर्डका अध्यक्ष प्रताप बिष्ट र कार्यकारी निर्देशक विष्णुप्रसाद सापकोटालाई खानेपानी आयोजनाको जिम्मेवारी हस्तान्तरण गरेको न्यौपानेले जानकारी दिनुभयो ।
हस्तान्तरण कार्यक्रममा उपमहानगर प्रमुख लामाले पानीको श्रोत व्यवस्थापनमा ध्यान दिने समय आएको बताउनुभएको छ । जमिनमुनि रहेको पानी बोरिङ गरेर निकाल्ने भन्दा पनि बगिरहेको मुलको पानी खोज्ने समय आएको उहाँको भनाइ छ । अहिलेसम्म हेटौँडा उपमहानगरका करिब २४ हजार घरधुरीलाई मासिक १० हजार लिटर निःशुल्क खानेपानीको व्यवस्थापन गरिरहेको भन्दै नगरको समानुपातिक विकासको अवधारणामा अघि बढिरहेको उहाँले बताउनुभयो ।
कार्यक्रममा उपप्रमुख बानियाँले नगरको विकास गर्नु आफूहरुको मुख्य काम रहेको भन्दै जनतामाझ गरेको प्रतिबद्धता कार्यान्वयनमा अघि बढिरहेको बताउनुभयो । उहाँले नगरमा खानेपानीको व्यवस्थापनमा कुनै समस्या नहुने भन्दै समस्या समाधान गर्न प्रतिबद्ध रहेको बताउनुभयो । टोल विकास संस्थाका अध्यक्ष घलानको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा–३ का वडा अध्यक्ष ढलकबहादुर थापा, पूर्ववडा अध्यक्ष रामकुमार पुडासैनी, पूर्वजनप्रतिनिधि कुमारसिंह लामा, टोल विकास संस्था वडा समन्वय समितिका अध्यक्ष रोशन गोलेलगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।