हेटौंडाः हेटौंडा अस्पतालको वहिरंगसँगै अन्तरंग विभागमा पनि बिरामीको संख्या बढ्दै गएको छ । हेटौंडा अस्पतालको विभिन्न वार्डहरुमा भर्ना भएर उपचार गराउने बिरामी संख्या बढ्दै गएको हो ।
अस्पतालको मेडिकल वार्ड, सर्जरी वार्ड र क्यबिनमा बिरामी उपचारका लागि आउने क्रम बढ्दै गएको छ । मेडिकल वार्डमा धेरैजसो ज्वरो, टिबी, एलर्जी, क्यान्सर, रक्तअल्पता, दम, निमोनिया, मृगौला आदिका बिरामी आउने गरेका मेडिकल वार्डकी इन्चार्ज सपना यादवले जानकारी दिनुभयो ।
मेडिकल वार्डमा हार्डजोर्नीका बिरामीबाहेक अरु राख्ने गरिएको छ । वार्डमा रहेका २६ बेडमध्ये बुधबार १३ वटा बेड भरिएको छ । अघिल्ला दनिहरुमा २० भन्दा बढि बेड भरिने गरेको यादवले बताउनुभयो ।
सर्जरी वार्डमा एपेन्डिसाइट, हर्निया, हाइड्रोसिल, मेजर केस, माइनर केसको शल्यक्रिया गरेका बिरामी उपचाररहत रहेको सर्जरी वार्डकी स्टाफ नर्स याजुना बज्राचार्यले बताउनुभयो । वार्डमा २२ बेडमध्ये १८ भरिएको छ । धेरैजसो २२ बेड नै भरिने गरेको उहाँको भनाइ छ । वार्डमा धेरैमा एपेन्डिसाइट, हर्नियाको बिरामी र कममा न्यूरोको बिरामी आउने गरेको बज्राचार्यले बताउनुभयो ।
क्याबिनमा सबै खालका बिरामीलाई रख्ने गरिएको छ । क्याबिनमा रहेका ६ बेडमध्ये अहिले ५ वटा बेड भरिएको छ । धेरैजसो बच्चा, मेडिकल, सर्जरी र अर्थोका बिरामी क्याबिनमा बस्ने गरेका छन् । वार्डमा गर्भवती महिलाबाहेक अरु सबै प्रकारका बिरामीलाई राख्न मिल्ने नर्सिङ इन्चार्ज सीता स्याङ्तानले जानकारी दिनुभयो ।











