हेटौँडाः थाहा नगरपालिका–६ स्थित बज्रबाराही माविमा शुक्रबारीय कार्यक्रम अन्तर्गत गाउँखाने कथा प्रतियोगिता भएको छ । ५ सदनका ४/४ जना विद्यार्थीको सहभागिता रहेको प्रतियोगितामा सेतो सदनको सबिना घलानको टिम प्रथम, निलो सदनको प्रशान्त थिङको टिम द्वितीय, पहेँलो सदनको बेलिमाया वाईबाको टिम तृतीय भएको छ । ६० वटा प्रश्न सोधिएकोमा ५४ वटा प्रश्नको उत्तर विद्यार्थीले मिलाएका थिए ।
प्रतियोगितामा कक्षा ६ देखि कक्षा १२ सम्मका विद्यार्थी सहभागी थिए । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीका लागि पुरस्कारको संयोजन सहायक प्रधानाध्यापक खडानन्द सुवेदीले गर्नुभएको थियो । यस्तै नर्सरी कक्षादेखि ५ कक्षासम्मका विद्यार्थीको कवाज प्रदर्शनी आयोजना गरिएको प्रधानाध्यापक रमेशमान डंगोलले जानकारी दिनुभएको छ । हरेक शुक्रबार आयोजना गरिने क्रियाकलापले विद्यार्थीको क्षमता विकासमा सहयोग पुग्ने प्रधानाध्यापक डंगोलले दावी गर्नुभएको छ ।