Home मुख्य समाचार आज नगरका १२ वटा वडामा एकसाथ नियमित खोप कार्यक्रम सञ्चालन हुँदै

आज नगरका १२ वटा वडामा एकसाथ नियमित खोप कार्यक्रम सञ्चालन हुँदै

हेटौंडाः हेटौंडा उपमहानगरपालिकाका १९ मध्ये १२ वटा वडामा आज शुक्रबार एकसाथ नियमित खोप कार्यक्रम सञ्चालन हुँदैछ । आज वडा नम्बर २, ३, ५, ६, ७, ८, ९, १३, १५, १७, १८ र १९ नम्बर वडामा खोप कार्यक्रम सञ्चालन हुँदैछ । खोप केन्द्रमा स्वास्थ्य अहेव तथा अनमीहरुले पीपीई लगाएर बालबालिकालाई खोप लगाइदिने छन् ।

कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको जोखिमका कारण चैत र बैशाख महिनामा रोकिएको खोप कार्यक्रम जेठ १ गतेबाट सुरु भएको हो । २ वर्षभन्दा कम उमेरका बालबालिकालाई विभिन्न ८ प्रकारका खोप लगाउने कार्यलाई वडामै विस्तार गरी सञ्चालन गरेको हेटौंडा उपमहानगरपालिकाका आयुर्वेद तथा जनस्वास्थ्य शाखा प्रमुख रमन झाले जानकारी दिनुभयो । जिल्ला जनस्वास्थ्य कार्यालयको मातृशिशु स्वास्थ्य क्लिनिकमा सञ्चालन हुने नियमित खोप कार्यक्रममा सहभागी हुन सबै वडाका नागरिकलाई सहज नहुने भएकोले उपमहानगरपालिकाले नियमित खोप कार्यक्रम वडामै सञ्चालन गरेको झाले बताउनुभयो ।

हेटौंडा उपमहानगरपालिकाका सबै वडामा खोप केन्द्र स्थापना गरिएको छ । ९३ जना स्वास्थ्य स्वयम्सेविकाले खोप कार्यक्रममा सहभागी हुन नगरवासीलाई प्रेरित गर्ने काम गरिरहेका छन् । उपमहानगरपालिकाले नियमित खोप कार्यक्रम वडास्थित स्वास्थ्य इकाईहरुसँगको समन्वयमा हरेक महिना सञ्चालन गर्नेछ ।

Exit mobile version