Home कला हास्यव्यंग्यकार आरसी रिजाल सम्मानितः सम्मान राशीमा थपेर कोष स्थापना गर्न सहयोग

हास्यव्यंग्यकार आरसी रिजाल सम्मानितः सम्मान राशीमा थपेर कोष स्थापना गर्न सहयोग

सम्मानवापत प्राप्त रकममा सोही बराबर थप गरेर सिस्नुपानी नेपाल मकवानपुरकी कोषाध्यक्ष शुभद्रा हुमागाईलाई रकम हस्तान्तरण गर्नुहुँदै हास्यव्यंग्यकार आरसी रिजाल ।

हेटौँडाः मकवानपुरका हास्यव्यंग्यकार आरसी रिजाल गणेश कुमार पौडेल स्मृति सम्मान–२०८० बाट सम्मानित हुनुभएको छ । शनिबार सिस्नुपानी नेपाल मकवानपुरले एक समारोहका बीच रिजाललाई सम्मान गरेको हो । रिजाललाई नगद २५ हजार १ रुपैयाँसहित दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरिएको छ ।

हास्यव्यंग्यकार रिजालले आफूले सम्मानस्वरुप प्राप्त रकममा त्यत्तिनै थप गरेर कुल ५० हजार रुपैयाँ सिस्नुपानी नेपाल मकवानपुरलाई फिर्ता गर्नुभएको छ । रिजालले सिस्नुपानी नेपाल मकवानपुरकी कोषाध्यक्ष शुभद्रा हुमागाईलाई ५० हजार रुपैयाँ हस्तान्तरण गर्नुभयो । रिजालले उक्त रकममा एक वर्षभित्र थप ५० हजार उपलब्ध गराई एक लाख रुपैयाँको कोष बनाइदिने प्रतिवद्धता पनि व्यक्त गर्नुभएको छ । उहाँले नवसर्जकलाई प्रोत्साहित गर्ने गरी पुरस्कार स्थापना गर्न अक्षयकोषको रुपमा स्थापना गर्न सिस्नुपानी नेपाल मकवानपुरलाई आग्रह समेत गर्नुभएको छ ।

यस्तै सिस्नुपानी नेपाल मकवानपुरले स्वर्गीय गणेश कुमार पौडलको स्मृति ग्रन्थ पनि लोकार्पण गरेको छ । स्वर्गीय पौडेलका समकक्षी, साहित्यकारले उहाँसँगको सामिप्यता, उहाँको व्यक्तित्व र योगदानका सन्दर्भमा लेख, रचना प्रकाशित गरिएको छ । सिस्नुपानी मकवानपुरले साहित्यिक गतिविधिका फोटा र दृश्य खिचेर सहयोग गर्ने महेन्द्र ओझालाई प्रसंशापत्र प्रदान गरेको छ । सिस्नुपानी नेपाल मकवानपुरका अध्यक्ष राजकुमार लामिछानेको सभाध्यक्ष तथा वरिष्ठ हास्यव्यंग्यकार नरनाथ लुइँटेलको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो ।

भीम विराग संगीत, साहित्य, कला प्रतिष्ठानका अध्यक्ष हयग्रीव आचार्यले पहिलोपटक स्मृतिमा ग्रन्थ निर्माण गर्नु स्वागतयोग्य कार्य रहेको बताउनुभयो । स्वर्गीय पौडलका मित्र समेत रहनुभएका रामचन्द्र आचार्य फुर्सतीले बाल्यकाल सम्झाउनु हुँदै पौडेलको व्यक्तित्वबारे जानकारी दिनुभयो । कार्यक्रममा साहित्यकारहरुले रचना वाचन गरेका थिए । स्वर्गीय पौडेलका छोरा गौरव पौडेलले बुबाप्रति साहित्य र सामाजिक क्षेत्रबाट प्रस्तुत भएको माया र सद्भावप्रति आभार व्यक्त गर्नुभयो । “बुबाले त्यत्ति ठूलो काम गर्नुभयो जस्तो नलागे पनि साहित्य र सामाजिक क्षेत्रबाट उहाँप्रति देखाउनु भएको सम्मानले हामी आभारी छौं”, गौरवले भन्नुभयो ।

Exit mobile version