Home मुख्य समाचार प्रदेश मन्त्रीद्वारा आँखा अस्पताल अवलोकनः उपकरण उपलब्ध गराउन अस्पतालको आग्रह

प्रदेश मन्त्रीद्वारा आँखा अस्पताल अवलोकनः उपकरण उपलब्ध गराउन अस्पतालको आग्रह

बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीलाई मागपत्र पेश गर्दै आँखा अस्पतालका अधिकारीहरु ।


हेटौँडाः बागमती प्रदेश सरकारका स्वास्थ्य मन्त्री उत्तम जोशीले सोमबार हेटौँडा सामुदायिक आँखा अस्पतालको अवलोकन गर्नुभएको छ । अस्पतालले आवश्यक सहयोगका लागि पहल गर्ने क्रममा मन्त्री जोशीले अस्पताल भ्रमण गरी अस्पतालको वस्तुस्थितिका बारेमा समेत जानकारी लिने गरी अवलोकन गर्नुभएको हो ।

अस्पतालको अवलोकनपछि मन्त्री जोशीलाई अस्पतालका प्रशासन प्रमुख सुधीर श्रेष्ठले अस्पतालको वस्तुस्थितिका बारेमा जानकारी गराउनुभएको थियो । अस्पतालले नियमित ओपिडी, आकस्मिक उपचार सेवाका साथै शल्यक्रिया गरी आँखाको उपचार गर्दै आएको श्रेष्ठले जानकारी दिनुभयो । विभिन्न सामुदायिक तथा सामाजिक संघ, संस्थासँगको सहकार्यमा हेटौँडा सामुदायिक आँखा अस्पतालले विभिन्न स्थानमा आँखा जाँच शिविर गर्नुका साथै निशूल्क मोतिविन्दुको शल्यक्रिया सेवा समेत प्रदान गर्दै आएको श्रेष्ठले बताउनुभयो । अस्पतालको वस्तुस्थितिबारे जानकारी गराएसँगै अस्पतालका प्रमुख डा. सुनिल थकाली, संरक्षक सिद्धिलाल श्रेष्ठ र प्रशासन प्रमुख सुधीर श्रेष्ठले संयुक्तरुपमा प्रदेश सरकारलाई सहयोगका लागि मागपत्र बुझाएका छन् । अस्पतालले मोतिविन्दुको उपचारको क्रममा आवश्यक बायोमेट्रिक मेसिन उपलब्ध गराइदिन माग गरिएको छ ।

बायोमेट्रिक मेसिन मोतीबिन्दु रोगको शल्यक्रिया गर्नुअघि लेन्सको पावर नाप्न प्रयोग गरिने अस्पतालका प्रमुख डा. सुनिल थकालीले बताउनुभयो । अहिले अस्पतालमा रहेको बायोम्याट्रिक मेसिन पुरानो भएकोले नयाँ मेसिनका लागि प्रदेश सरकारसँग आग्रह गरिएको डा. थकालीले जानकारी दिनुभएको छ । बायोमेट्रिक मेसिन खरिद गर्न करिब २५ लाख रुपैयाँ लाग्ने डा. थकालीले बताउनुभएको छ ।

यस्तै आँखामा लगाउने लेन्स उत्पादन उद्योग काठमाडौंबाट हेटौँडा सार्ने तयारी भइरहेको अस्पतालका संरक्षक सिद्धिलाल श्रेष्ठले जानकारी दिनुभयो । उद्योगका लागि प्रशासनिक भवन र पर्खाल निर्माण भइसकेको र केही महिनाभित्रै लेन्स उद्योग हेटौंडा–३, बसामाडीमा सञ्चालनमा आउने संरक्षक श्रेष्ठले बताउनुभयो । हेटौँडा सामुदायिक आँखा अस्पतालले मकवानपुरका स्थानीय पालिकासँगको सहकार्यमा पालिकामै ग्रामीण आँखा केन्द्र स्थापना गरी आँखाको आधारभूत स्वास्थ्य परीक्षण र उपचारको कार्य गर्दै आएको छ । गत साता मात्रै मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा ग्रामीण आँखा केन्द्र स्थापना गरिएको थियो । यसअघि थाहा नगरपालिका, मनहरी गाउँपालिका, बागमती गाउँपालिका, कैलाश गाउँपालिका ग्रामीण आँखा केन्द्र सञ्चालनमा रहेको छ । बकैया गाउँपालिकामा छिट्टै ग्रामीण आँखा केन्द्र स्थापना गर्ने तयारी भइरहेको छ । यस्तै राक्सिराङ, भीमफेदी र मकवानपुरगढीमा पनि ग्रामीण आँखा केन्द्र स्थापनाको पहल भइरहेको प्रशासन प्रमुख सुधीर श्रेष्ठले जानकारी दिनुभएको छ ।

Exit mobile version