हेटौंडाः लकडाउनका बेला हेटौंडा–१० स्थित थोक तरकारी बजार बिहानको समयमा भीडभाड भएको भन्दै बन्द गर्न स्थानीय समुदायदेखि जनप्रतिनिधिहरु नै सक्रिय भए । जनप्रतिनिधि र स्थानीय समुदायले थोक तरकारी बजारको व्यवस्थापनमा भन्दा बन्दै गरे आनन्दै भन्ने सोँचे । जनप्रतिनिधि र स्थानीयको गनगन र जबर्जस्तीपछि व्यवसायी पनि दिक्क भए, बजार बन्द गर्न सहमत भए । तर, व्यवसायीले थोकबजार बन्द गरेर चोक–चोकमा थोक खुद्रा व्यापार सुरु गरेका छन् । स्थानीय प्रशासन र प्रहरीले थोक बजार व्यवस्थापनमा ध्यान नदिँदा अहिले चोक–चोकमै व्यापार फस्टाएको छ ।
थोकबजार बन्द भएपछि तरकारी व्यवसायीले आफ्नै घरनजिकको खाली ठाउँमा बजार बनाएका छन् । अहिले हेटौंडा–५, भैरवरोड, हेटौंडा–१, राप्तीरोडमा तरकारीको थोक तथा खुद्रा बजार लागेको छ । कतिपयले आफू किसान नै भएको समेत बताएका छन् । मनहरी गाउँपालिकाको हाँडीखोलाका किसान भएको बताउँदै आफ्नै खेतबारीमा उत्पादन भएको तरकारी विक्री गर्न हेटौंडा बजार आएको बताएका छन् ।
बिहान ९ बजेसम्म व्यापारीले तरकारी विक्री गरिरहेका छन् । व्यवसायीले किसानको उत्पादन उपभोक्तासम्म पुर्याउन सहयोग गरेका बताएका छन् । उपभोक्ताका लागि दैनिक अत्यावश्यक उपभोग्य वस्तुको वितरण प्रणालीलाई व्यवस्थित गरेर सुरक्षा व्यवस्था कडा बनाउन स्थानीय प्रशासन असफल भएकै कारण अहिले हेटौंडा बजार क्षेत्रको सडकपेटी तरकारी बजारमा परिणत भएको छ ।
हेटौंडा बजारको सडकपेटीमा जुत्ताचप्पलदेखि जिरा, मसलाको समेत व्यापार भइरहेको छ । मासु पसल बन्द गर्ने भनिए पनि मासुको व्यापार खुला छ ।