Home मुख्य समाचार जाँतेकी एक महिलाले दुई सन्तानलाई विषादी पिलाइन्, १८ महिने बालकको मृत्यु

जाँतेकी एक महिलाले दुई सन्तानलाई विषादी पिलाइन्, १८ महिने बालकको मृत्यु

हेटौँडाः हेटौँडा–१५, जाँतेमा एक महिलाले आफ्ना दुई सन्तानलाई विष पिलाएर आफूले पनि विष पिएकी छिन् । बुधबार साँझ ५ बजेर ५० मिनेटको समयमा ३६ वर्षीया सोनी पाख्रिनले ७ वर्षीय छोरा अस्किन वाईवा र १८ महिनाको छोरा जेनिस वाईवालाई विषादी पिलाएर आफूले पनि विषादी सेवन गरेको मकवानपुर प्रहरीले जनाएको छ ।

विषादी सेवनबाट बिरामी भएका तीनैजनालाई हेटौँडा अस्पतालमा उपचारका लागि पुर्याइएको थियो । थप उपचारका लागि भरतपुर पठाइएकोमा १८ महिने छोरा जेनिस वाईबाको बिहिबार बिहान ७ बजेर ५० मिनेटमा मृत्यु भएको प्रहरीले जनाएको छ । अस्किनको अवस्था मध्यम रहेको र सोनीको अवस्था भने गम्भीर रहेको मकवानपुरका प्रहरी प्रवक्ता टेकबहादुर कार्कीले जानकारी दिनुभएको छ ।

के कारणले विषादी सेवन गर्यो भन्ने स्पष्ट नभएको प्रहरीले जनाएको छ । यता वडा अध्यक्ष सुनिल मोक्तानले पनि दुखद् घटना भएको बताउनुभयो । परिवारमा त्यस्तो समस्या जस्तो नदेखिएको उल्लेख गर्नुहुँदै वडा अध्यक्ष मोक्तानले घाइतेको उपचार र घटनाबारे बुझ्ने प्रयास भइरहेको बताउनुभएको छ ।

Exit mobile version