Home मुख्य समाचार हातेमालोको स्थापना दिवसः ७ कार्यक्रम गरी मनाइँदै

हातेमालोको स्थापना दिवसः ७ कार्यक्रम गरी मनाइँदै

कार्यक्रमको उदघाटन गरीदै ।

हेटौँडाः हेटौंडा–२ स्थित हातेमालो बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १७ औं स्थापना दिवसको अवसरमा साताव्यापी कार्यक्रमको आयोजना गरिएको छ । सहकारीका अध्यक्ष हरिप्रसाद पौडेलको सभाध्यक्ष तथा बागमती प्रदेश सहकारी बोर्डका कार्यकारी उपाध्यक्ष एवम् मकवानपुर जिल्ला सहकारी संघका अध्यक्ष नारायण प्रसाद देवकोटाको प्रमुख आतिथ्यतामा स्थापना दिवसको साताव्यापी कार्यक्रम सुरु भएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रदेश सहकारी बोर्डका कार्यकारी उपाध्यक्ष देवकोटाले अहिले सहकारी क्षेत्रमा वेतिथि रहेको बताउनुभयो । अनुत्पादक क्षेत्रमा लगानी गरिरहेका सहकारीहरु धरासायी अवस्थामा पुगेको उहाँले बताउनुभयो । कुनै ठोस नीतिमा नचली सहकारी व्यक्तिको परिवारवादमा केन्द्रित हुँदा समस्या निम्तिएको उहाँले बताउनुभयो । सहकारीहरु सदस्य केन्द्रित र समुदायमा आधारित भएमा कुनै समस्या नआउने उहाँले बताउनुभयो । सहकारीले आर्थिक मन्दीका कारण शेयर सदस्यहरुबाट ऋण रकम उठ्न नसकिरहेको बताउनुहुँदै उहाँले उत्पादनमुलक क्षेत्रमा तालिम प्रदान गरेर लगानी गर्नुपर्ने उहाँले बताउनुभयो ।

सहकारीका अध्यक्ष पौडेलले उत्पादनको जोड्नपर्छ भनेर यस पटक नयाँ कार्यक्रमको आयोजना गरिएको बताउनुभयो । यसअघि छतमा तरकारी खेतीको तालिम दिएको बताउनुहुँदै उहाँले थोरै लगानीमा आयआर्जन गर्न सक्ने कार्यक्रमलाई यसपटक आयोजना गरिएको बताउनुभयो । उहाँले संस्थाका शेयर सदस्यहरुले उत्पादन गरेका धुप संस्थाले विक्री गर्न समन्वय गर्ने बताउनुभयो । स्थापना दिवसको अवसर हेटौंडा–२ स्थित मकवानपुर सहकारी अस्पताल र संस्थाबीच सहकार्य सम्झौता भएको छ । मकवानपुर सहकारी अस्पतालका अध्यक्ष विष्णुगोपाल महर्जन र सहकारीका अध्यक्ष पौडेलले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको छ ।

स्थापना दिवसकै अवसरमा बिहिबार लम्की स्किन रोगबारे र पशुपालनबारे सचेतनामूलक कार्यक्रम आयोजना गरिँदैछ । शुक्रबार हेटौँडा–५ स्थित लक्ष्मी आधारभूत विद्यालयमा व्याग वितरण कार्यक्रम र शनिबार बकैया गाउँपालिका–४ स्थित गरगरेमा स्वास्थ्य शिविर कार्यक्रमको आयोजना गरिएको छ । यस्तै आइतबार बिहान हेटौँडा–२ स्थित संगमचोकमा रक्तदान कार्यक्रम, दिउँसो संस्थाको वार्षिक लक्ष्य प्रगति समिक्षा र छात्रवृत्ति वितरण कार्यक्रम हुने जनाएको छ । २ हजार ५ सय ४१ जना शेयर सदस्य रहेको संस्थाको अहिले शेयर पुँजी ६ करोड २७ लाख ७१ हजार रुपैयाँ रहेको छ । सहकारीको ऋण लगानी ५१ करोड ८५ लाख २९ हजार रुपैयाँ छ भने नाफा १ करोड २३ हजार रुपैयाँ छ ।

Exit mobile version