हेटौँडाः हेटौँडा उपमहानगरपालिकाको २ नम्बर वडामा अव्यवस्थितरुपमा रहेका इन्टरनेटका तार व्यवस्थापनको कार्य सुरु भएको छ । आज शुक्रबारबाट इन्टरनेट सेवा प्रदायकहरुले एकसाथ हेटौँडा–२, संगमचोकबाट तार व्यवस्थापनको कार्य सुरु गरेको हो । वडा कार्यालयले दुई साताअघि अग्रसरता देखाएको थियो ।
नगरको सुन्दरतामा ह्रास आउनुका साथै आगलागीको जोखिमसमेत रहेकोले वडा कार्यालयले पहल गरेर इन्टरनेट सेवा प्रदायकलाई तार व्यवस्थापन गर्न भनेअनुरुप आज शुक्रबारबाट व्यवस्थापनको कार्य सुरु भएको वडा अध्यक्ष विष्णुगोपाल महर्जनले जानकारी दिनुभएको छ । हेटौँडामा १२ वटा इन्टरनेट सेवा प्रदायक रहेको र सबै तार व्यवस्थापनमा सहभागी भएको उहाँले बताउनुभएको छ ।
इन्टरनेट सेवा प्रदायकले शुक्रबार र शनिबार तार व्यवस्थापनको कार्य गर्ने वडाअध्यक्ष महर्जनले जानकारी दिनुभयो । इन्टरनेट सेवा प्रदायकले प्रयोगमा नआएका तारहरु निकाल्ने कार्य भइरहेको जनाएको छ । प्रयोगमा नआएका तारहरु निकालेपछि सबै तारलाई क्लिपिङ गरेर राख्दा व्यवस्थित हुने इन्टरनेट सेवाप्रदायकको भनाइ छ ।
