हेटौंडा अस्पतालको तस्विर ।

हेटौंडाः हेटौंडा उपमहानगरपालिकाका महिला जनप्रतिनिधिहरुले हेटौंडा अस्पताल अवलोकन गरेका छन् । सोमबार बिहान उपमहानगरभित्रका १९ वटै वडाका महिला वडा सदस्यहरुले हेटौंडा अस्पतालको सम्पूर्ण सेवा सुविधाबारे जानकारी लिएको वडा सदस्य महिला जनप्रतिनिधि संयोजक रञ्जिता सिलवालले जानकारी दिनुभएको छ ।

जनप्रतिनिधिहरुले अस्पतालमा सञ्चालन हुने सबै सेवा सुविधाबारे सोधपुछ गरेको बताइएको छ । अस्पतालको ओपीडीमा डाक्टरको कमीका कारण भिडभाड हुने गरेको उहाँले बताउनु भएको छ । उहाँहरुले अस्पतालको नियमित सेवाको बारेमा प्रत्यक्ष सेवाग्राहीलाई भेटेर सोधपुछ गर्दा सेवाग्राहीहरुले अस्पतालमा सेवा सुविधा राम्रो रहेको बताएका छन् ।

यस्तै, चिकित्सकहरुलाई प्रत्यक्ष भेटेर सोधपुछ गर्नुभएको पनि थियो । अस्पतालमा चिकित्सकको कमी भएका कारण समस्या भएको उहाँले जानकारी दिनुभएको छ । अस्पतालका समस्याबारे छलफल भइरहेको र त्यसको जतिसक्दो छिटो समाधान गर्ने हेटौंडा अस्पतालका सूचना अधिकारी राजीव झाले बताउनुभएको छ ।