Home मुख्य समाचार पत्रकार संगठनलाई दिइने अनुदानमा गम्भीर छौंः मन्त्री श्रेष्ठ

पत्रकार संगठनलाई दिइने अनुदानमा गम्भीर छौंः मन्त्री श्रेष्ठ

विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा पत्रकारसँग छलफलको क्रममा शुभकामना मन्तव्य व्यक्त गर्नुहुँदै मन्त्री श्रेष्ठ ।

हेटौंडाः बागमती प्रदेश सरकारका आन्तरिक ममिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले पत्रकार संगठनहरुलाई दिने अनुदान रकमका विषयमा आफू गम्भीर रहेको बताउनुभएको छ । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा बुधबार मन्त्रालयमा सञ्चारकर्मीसँग कुराकानी गर्नुहुँदै मन्त्री श्रेष्ठले दलगत संगठनलाई अनुदान दिने विषयमा आलोचना भइरहेको सन्दर्भमा आफू गम्भीर रहेको बताउनुभयो ।

प्रेस स्वतन्त्रताको नाममा स्वच्छन्द प्रवृत्ति मौलाउँदै गएको भनी सञ्चारकर्मीले ध्यानाकर्षण गराएको विषयमा मन्त्री श्रेष्ठले प्रदेश सरकारले स्वतन्त्रताको दुरुपयोग हुने अवस्था आउन नदिने स्पष्ट पार्नुभयो । आगामी आर्थिक वर्षमा प्रदेश सञ्चार रजिष्ट्रारको कार्यालयको अधिकार र बजेट दुवै बढेर आउने मन्त्री श्रेष्ठले स्पष्ट पार्नुभएको छ । प्रदेश सञ्चारग्राम निर्माणमा पनि प्रदेश सरकारले आवश्यक सहयोग गर्ने प्रतिवद्धता उहाँले व्यक्त गर्नुभएको छ । पञ्चायतकालकै ऐनलाई संघीय सरकारले समयानुकुल परिमार्जन गर्ने र नयाँ ऐन बनाउने कार्य नगरेका कारण प्रदेश सरकारलाई समेत समस्या भइरहेको उहाँको भनाइ थियो ।

कार्यक्रममा प्रदेश सञ्चार रजिष्ट्रार रेवती सापकोटाले मिडियाको संख्या धेरै भएको र व्यवस्थापकीय पक्षमा पनि कमिकमजोरी देखिएकाले मिडिया मर्ज गर्न प्रोत्साहित गर्ने गरी आगामी दिनमा नीति ल्याइने जानकारी गराउनुभएको छ । नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिका संस्थापक अध्यक्ष प्रताप विष्टले पत्रकारले समयमै पारिश्रमिक पाउने अवस्था नहुनु दुखद् भएको बताउनुभयो । उहाँले पत्रकार र सञ्चारमाध्यमप्रति घट्दो विश्वासनीयता चुनौतिको विषय भएको औँल्याउनुहुँदै जनविश्वास बढाउने गरी काम गर्नु जरुरी रहेको औँल्याउनुभयो ।

नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिका महासचिव कृष्ण सारु मगरले सञ्चार माध्यम खारेजी गर्न सकिने व्यवस्थासहितको प्रदेशको कानुनलाई संशोधन गर्न सुझाव दिनुभएको छ । नेपाल पत्रकार महासंघ मकवानपुर जिल्ला शाखाका अध्यक्ष मणिराज गौतमले गत वर्ष धादिङमा पत्रकारलाई ल्यापटप वितरण गरेजस्तै मकवानपुरका पत्रकारलाई पनि ल्यापटप वितरण गर्न माग गर्नुभयो । प्रेस कार्ड जोकसैले सहजै लिइरहेको उल्लेख गर्नुहुँदै उहाँले महासंघसँग समन्वय गरेर समाचार लेख्ने व्यक्तिलाई नै पत्रकार परिचयपत्र दिने व्यवस्था गर्न प्रेस रजिष्ट्रारको कार्यालयलाई आग्रह गर्नुभएको छ ।

प्रेस चौतारी मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारीले प्रेस स्वतन्त्रताको नाममा मौलाउँदै गएको स्वच्छन्दताका कारण मिडियामाथि नै आक्रमण हुने अवस्था आएको भन्दै चिन्ता व्यक्त गर्नुभयो । सञ्चारकर्मीमा उच्च नैतिक चरित्रको आवश्यकताका बारेमा सचेत हुनुपर्ने उहाँको धारणा थियो । प्रेस युनियन मकवानपुरका अध्यक्ष कुमार अधिकारीले असरल्ल मिडिया खुल्ने अवस्थाले सञ्चार माध्यमको उचित नियमन जरुरी रहेको औँल्याउनुभयो । एकै व्यक्तिका नाममा दुईभन्दा बढी मिडिया स्थापित हुनु स्वभाविक नभएको उहाँको भनाइ थियो ।

प्रेस सेन्टर मकवानपुरकी अध्यक्ष अञ्जली थापाले पत्रकार पलायनको अवस्थाप्रति ध्यान दिन आग्रह गर्नुभयो । उहाँले महिला पत्रकारलाई प्रोत्साहित गर्ने कार्यक्रम ल्याउन पनि माग गर्नुभएको छ । समृद्ध समाज दैनिकका सम्पादक सुरेश श्रेष्ठले राजनीतिक दल निकट पत्रकार संगठनलाई अनुदान दिने कार्य बन्द गर्नुपर्ने माग गर्नुभयो । यस्तै सञ्चार रजिष्ट्रारको कार्यालयले रजिष्ट्रारको कार्यालयमा दर्ता भएका मिडियालाई मात्रै प्रदेश सरकारको तर्फबाट लोककल्याणकारी सूचना दिने भन्ने व्यवस्था हाँस्यास्पद भएको उहाँले जीकिर गर्नुभएको छ । कान्तिपुर टिभिका पत्रकार सुजन पुडासैनीले प्रदेश सरकारले मोवाइल पत्रकारिताको तालिम दिएर प्रोत्साहित गरिरहँदा समाचार संकलनको क्रममा मोवाइलको प्रयोग गर्दा प्रहरी प्रशासनले निषेध गर्ने स्थिति विरोधाभाषपूर्ण भएको औँल्याउनुभयो ।

Exit mobile version