हेटौंडाः गत मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका उम्मेदवारहरुले निर्वाचन खर्च विवरण सार्वजनिक गरेका छन् । निर्वाचनमा आयोगले मंगलबारसम्ममा निर्वाचनमा भएको खर्च विवरण सार्वजनिक गर्न उम्मेदवारहरुलाई निर्देशन दिएसँगै मकवानपुरबाट निर्वाचनमा सहभागी भएका उम्मेदवारहरुले खर्च विवरण सार्वजनिक गरेका हुन् ।
निर्वाचनको अन्तिम परिणाम सार्वजनिक भएको ३५ दिनभित्र निर्वाचन आयोगमा उम्मेदवारले खर्च विवरण बुझाएका थिए । प्रतिनिधिसभाअन्तर्गत् मकवानपुर निर्वाचन क्षेत्र नम्बर १ र क्षेत्र नम्बर २ बाट उम्मेदवार बनेका १६–१६ जनाले ३५ दिनभित्र निर्वाचन आयोगमा निर्वाचन खर्च विवरण बुझाएका थिए ।
प्रदेशसभाअन्तर्गत् क्षेत्र नम्बर १ (क) का १० जना र (ख) का १५ जना उम्मेदवारले पनि ३५ दिनभित्र आयोगमा विवरण बुझाएका थिए । यस्तै, प्रदेशसभाअन्तर्गत् क्षेत्र नम्बर २ (क) का ८ जना र (ख) का १० जना उम्मेदवारले पनि आयोगमा ३५ दिनभित्रै खर्च विवरण बुझाएका थिए ।
मकवानपुर क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपकबहादुर सिंहले निर्वाचनमा २० लाख २० हजार ८१ रुपैयाँ खर्च भएको विवरण आयोगमा बुझाउनुभएको छ । सिंहले आमसभाका लागि २ लाख रुपैयाँ, नमुना मतपत्र र प्रतिबद्धता पत्रका लागि ४ लाख ६३ हजार, प्रचारप्रसारमा ७ लाख ४० हजार रुपैयाँ खर्च भएको उल्लेख गर्नुभएको छ । निर्वाचन प्रयोजनका लागि बैंकमा कुनै खाता नखोलेको पनि सिंहले उल्लेख गर्नुभएको छ ।
सिंहका प्रतिद्वन्द्वी गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसकी डीना उपाध्यायले सबैभन्दा बढी २८ लाख ५७ हजार ४ सय २८ रुपैयाँ खर्च भएको विवरण सार्वजनिक गर्नुभएको छ । उपाध्यायले वडा कार्यालय सञ्चालनका लागि मात्र २० लाख रुपैयाँ र सचिवालय सञ्चालनका लागि ७ लाख रुपैयाँ खर्च भएको उल्लेख गर्नुभएको छ । यस्तै, नेकपा एमालेको चुनाव चिन्ह लिएर उम्मेदवार बनेका राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले निर्वाचनमा १५ लाख ३७ हजार ३ सय ४० रुपैयाँ खर्च भएको विवरण सार्वजनिक गर्नुभएको छ ।
मकवानपुर निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित नेकपा एमालेका महेश बर्तौलाले निर्वाचनमा २१ लाख ३६ हजार २ सय ७० रुपैयाँ खर्च भएको विवरण सार्वजनिक गर्नुभएको छ । बर्तौलाले खाजा, खाना र नास्तामा १२ लाख ३८ हजार, प्रचारप्रसारका लागि ४ लाख ४५ हजार २ सय २० रुपैयाँ, इन्धनका लागि ३ लाख रुपैयाँ र गाडी भाडाका लागि ४६ हजार रुपैयाँ खर्च भएको विवरण सार्वजनिक गर्नुभएको छ ।
मकवानपुर क्षेत्र नम्बर २ (ख) बाट प्रदेशसभामा निर्वाचित गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका इन्द्रबहादुर बानियाँले निर्वाचनमा १२ लाख १ हजार ८ सय रुपैयाँ खर्च भएको विवरण सार्वजनिक गर्नुभएको छ । बानियाँले मञ्च व्यवस्थापनका लागि १ लाख ३० हजार रुपैयाँ, नुमना मतपत्र छपाइका लागि १ लाख रुपैयाँ, निमन्त्रणापत्र छपाईका लागि १ लाख रुपैयाँ, इन्धनका लागि १ लाख ३२ हजार रुपैयाँ, प्रचारप्रसारका लागि १ लाख २० हजार र खाना, खाजाका लागि १ लाख २५ हजार रुपैयाँ खर्च भएको उल्लेख गर्नुभएको छ । मकवानपुर क्षेत्र नम्बर २ (क) बाट प्रदेशसभामा निर्वाचित गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रकी कुमारी मोक्तानले ८ लाख ४९ लाख ४ सय ९९ रुपैयाँमात्र खर्च भएको विवरण सार्वजनिक गर्नुभएको छ । मोक्तानले गाडी भाडामा १ लाख २७ हजार रुपैयाँ, प्रचारप्रसारमा २ लाख ५३ हजार रुपैयाँ खर्च भएको उल्लेख गर्नुभएको छ ।
मकवानपुर क्षेत्र नम्बर १ (क) बाट प्रदेशसभामा निर्वाचित गठबन्धनका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रका प्रेमबहादुर पुलामीले निर्वाचनमा २१ लाख ११ हजार १ सय ६ सय ८ रुपैयाँ खर्च भएको विवरण सार्वजनिक गर्नुभएको छ । पुलामीले सचिवालय सञ्चालनका लागि ४ लाख ५२ हजार १ सय ५८ रुपैयाँ, वडा कार्यालय सञ्चालनका लागि १ लाख ४० हजार रुपैयाँ, खाना र खाजाका लागि १ लाख २७ हजार रुपैयाँ र पेट्रोलका लागि ७७ हजार रुपैयाँ खर्च भएको उल्लेख गर्नुभएको छ । मकवानपुर २ (ख) बाट प्रदेशसभामा निर्वाचित नेकपा एमालेका एकालाल श्रेष्ठले निर्वाचनमा १० लाख ५९ हजार ३ सय ९१ रुपैयाँ खर्च भएको विवरण सार्वजनिक गर्नुभएको छ । श्रेष्ठले प्रचारप्रसारका लागि १ लाख ६७ हजार, सवारी साधनका लागि १ लाख ५२ हजार, कार्यालय सञ्चालनका लागि २ लाख ४० हजार र प्रतिनिधि परिचालनका लागि १ लाख ५० हजार रुपैयाँ खर्च भएको विवरण सार्वजनिक गर्नुभएको हो ।
मकवापनुर १ (क) बाट प्रदेशसभाका उम्मेदवार नेकपा एमालेका कमलबहादुर विष्टले ९ लाख ४० हजार रुपैयाँ, २ नम्बर क्षेत्रको (ख) का उम्मेदवार लालबहादुर थापाले ९ लाख ३१ हजार ४ सय ४२ रुपैयाँ, २ को (ख) बाटै उम्मेदवार मंगोल नेशनका युनिश मोक्तानले १ लाख ६ हजार ३ सय ५० रुपैयाँ खर्च भएको विवरण सार्वजनिक गर्नुभएको छ ।
