Home मुख्य समाचार त्रिभुवन माविमा दोस्रो बस, २०० विद्यार्थी थप्ने विद्यालयको योजना

त्रिभुवन माविमा दोस्रो बस, २०० विद्यार्थी थप्ने विद्यालयको योजना

आइतबार त्रिभुवन माविका प्रधानाध्यापकसहित विद्यालय परिवारले विद्यालय बसको चाबी बुझ्दै ।

हेटौंडाः हेटौंडा–११, नवलपुरस्थित त्रिभुवन माविमा दोस्रो बस भित्रिएको छ । बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयबाट २५ लाख रुपैयाँ र हेटौंडा उपमहानगरपालिकाबाट ५ लाख रुपैयाँ अनुदान प्राप्त गरेको विद्यालयले भन्सार छुट सुविधासहित ४२ सिट क्षमताको बस खरिद गरेको छ । यसअघि विद्यालयसँग ३२ सिट क्षमताको बस थियो ।

विद्यालयमा दुईवटा बस भएसँगै शैक्षिक सत्र २०८० मा २ सय विद्यार्थी थप गरी ९ सयदेखि १ हजार संख्यामा विद्यार्थी भर्ना गर्ने लक्ष्य रहेको प्रधानाध्यापक नारायणप्रसाद भण्डारीले बताउनुभएको छ । २०७७ सालमा प्रधानाध्यापकको जिम्मेवारी सम्हाल्दा ४ सय ७४ जना विद्यार्थी रहेको उल्लेख गर्नुहुँदै शैक्षिक सत्र २०७८ मा ६ सय ९८, शैक्षिक सत्र २०७९ मा ७ सय ५० विद्यार्थी भर्ना गर्न सफल भएको प्रधानाध्यापक भण्डारीको भनाइ छ । बसको प्रयोग गरेर वडाभित्रकै विद्यार्थीलाई विद्यालयको पहूँचमा ल्याउन खोजेको उहाँले जानकारी दिनुभएको छ ।

विद्यालयले अंग्रेजी माध्यममा पठनपाठन सुरु गरेसँगै विद्यार्थी र अभिभावकको आकर्षण बढेको हो । अहिले त्रिभुवन माविमा ५ कक्षासम्म पूर्णरुपमा अंग्रेजी माध्यममा पठनपाठन भइरहेको छ भने ६ कक्षादेखि १० कक्षासम्म नेपाली र अंग्रेजी दुबै माध्यममा पठनपाठन भइरहेको छ । १२ कक्षासम्म पठनपाठन हुने त्रिभुवन माविमा प्राविधिकतर्फ ३ वर्षे खाद्य तथा प्रविधि विषय पनि पठनपाठन भइरहेको छ । गत वर्ष अन्तिम समयमा स्वीकृति प्राप्त भएकोले ४० जना विद्यार्थीको कोटामा ८ जना विद्यार्थी मात्रै भर्ना गर्न सकेको विद्यालयले यो वर्ष कोटाअनुसार ४० जना विद्यार्थी नै भर्ना गर्ने प्रधानाध्यापक भण्डारीले दावी गर्नुभएको छ । विद्यालयमा हरेक वर्ष भर्ना भएका विद्यार्थी मध्ये करिब ५ प्रतिशत विद्यार्थीले बीचमै पढाई छाड्ने प्रवृत्ति रहेको उहाँको भनाइ छ ।

Exit mobile version