अखिल (क्रान्तिकारी) विप्लव नेतृत्वको प्यानलका उम्मेदवारहरु ।

हेटौंडाः भोलि चैत ५ गते आइतबार देशभर त्रिभुवन विश्वविद्यालयका आंगिक तथा सम्बन्धन प्राप्त कलेजहरुमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन हुँदैछ । स्ववियु निर्वाचन विद्यार्थीको निर्वाचन भन्दा पनि राजनीति दलको भातृ संगठनको रुपमा क्रियाशील विभिन्न विद्यार्थी संगठनको निर्वाचनको रुपमा प्राथमिकताको विषय बन्ने गरेको छ ।

मकवानपुरमा रहेको त्रिविको एउटा आंगिक क्याम्पस र ७ वटा सामुदायिक क्याम्पसमा निर्वाचन हुँदैछ । थाहा नगरपालिकामा रहेको पालुङ बहुमुखी क्याम्पसमा सर्वसम्मत नयाँ नेतृत्व चयन भइसकेकोले भोलि आइतबार एउटा आंगिक क्याम्पस र ६ वटा सामुदायिक क्याम्पस गरी ७ वटा क्याम्पसमा निर्वाचन हुँदैछ । मकवानपुर जिल्लाका ७ वटा क्याम्पस मध्ये हेटौंडा–१६, हटियास्थित हटिया जनप्रिय बहुमुखी क्याम्पसमा नेकपा माओवादी विप्लवको भातृ संगठन अखिल (क्रान्तिकारी) विप्लवबाट सबै उम्मेदवार छात्रा छन् । अनेरास्ववियु र अनेरास्ववियूसम्मिलित प्यानलको नेतृत्व अखिल (क्रान्तिकारी) विप्लवले गरेको छ ।

यता नेविसंघको नेतृत्वमा राप्रविसं र अखिल क्रान्तिकारीको अर्को प्यानल छ । प्रत्यक्षतर्फ ६ जना उम्मेदवार मध्ये नेपाल विद्यार्थी संघको नेतृत्वमा अध्यक्षका उम्मेदवार र सदस्य दुईजना मात्रै पुरुष उम्मेदवार छन् । शिक्षाशास्त्र संकाय सञ्चालनमा रहेको हटिया–जनप्रियमा ५६ जना विद्यार्थी छन् । जसमध्ये १० जना मात्रै छात्र छन् । छात्राको संख्या बढी भएकै कारण छात्राकै नेतृत्वमा प्यानलबाट सबै उम्मेदवार छात्रा चयन गरिएको बताइएको छ । विप्लव नेतृत्वको विद्यार्थी संगठनले समानुपातिकतर्फ पनि सबै छात्रालाई मात्रै उम्मेदवार बनाएको छ ।

अखिल (क्रान्तिकारी) विप्लवको प्यानलबाट मुना गोलेको नेतृत्वमा सचिवमा पुष्पा बास्तोला, कोषाध्यक्षमा नमुना पोखरेल, सदस्यमा मेनुका दाहाल, पवित्रा अधिकारी र बिनिता तिमल्सिना उम्मेदवार छन् । यता नेविसंघ नेतृत्वको प्यानलले अध्यक्षमा सुजन धिमाल, सचिवमा रविना चौलागाई, कोषाध्यक्षमा विजेता फुयाल, सदस्यमा स्वस्तिका भुजेल, सुदीप थोकर तामाङ र रुपा चौलागाईलाई उम्मेदवार बनाएको छ । सहरोन्मुख हटियाको हटिया–जनप्रिय बहुमुखी क्याम्पसले निर्वाचनलाई सौहाद्र्धरुपमा सम्पन्न गर्ने सबै तयारी पूरा गरेको जनाएको छ ।