Home अर्थ/व्यापार मणि खाद्यान्नलाई अढाई लाख रुपैयाँ जरिवाना भराउने निर्णय

मणि खाद्यान्नलाई अढाई लाख रुपैयाँ जरिवाना भराउने निर्णय

हेटौंडाः घरेलु तथा साना उद्योग कार्यालय मकवानपुरले हेटौंडा–२ स्थित मणि खाद्यान्न सेन्टरलाई अढाई लाख रुपैयाँ जरिवाना भराउने निर्णय गरेको छ । संयुक्त अनुगमन टोलीले बैशाख १८ गते मणि खाद्यान्न सेन्टरको अनुगमन गर्दा २५ केजीको चामलको बोरामा कम तौल पाएको थियो । घरेलु तथा साना उद्योग कार्यालय मकवानपुरका प्रमुख जगन्नाथ दहालकाअनुसार प्रादेशिक व्यापार तथा व्यवसाय सम्बन्धी ऐन २०७६ अनुसार आज मणि खाद्यान्न सेन्टरलाई अढाई लाख रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको हो । बागमती प्रदेश सरकारले निर्माण गरेको व्यापार तथा व्यवसाय सम्बन्धी ऐनमार्फत प्रदेशमै पहिलो पटक व्यवसायीलाई दण्डित गर्ने निर्णय गरिएको दाहालले बताउनुभयो ।

प्रादेशिक व्यापार तथा व्यवसाय सम्बन्धी ऐन २०७६ को दफा ३८ उपदफा २ (क) मा वस्तु वा सेवाको वास्तविक गुणस्तर, परिमाण, मूल्य, नापतौल, ढाँचा वा बनावट आदि ढाँटी, लुकाई, छिपाई वा झुक्याई त्यस्तो वस्तु वा सेवा विक्री वा प्रदान गर्ने कार्यलाई अनुचित व्यापारिक तथा व्यवसायजन्य क्रियाकलापको रुपमा परिभाषित गरिएको छ । ऐनकै दफा ६० (ज) बमोजिम कसुर गरेको मानिने र यस्तो कसुरमा दुई लाख ५० हजार रुपैयाँदेखि तीन लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्थाअनुसार मणि खाद्यान्न सेन्टरलाई कारवाहीको निर्णय गरिएको कार्यालय प्रमुख दहालले स्पष्ट पार्नुभयो । कार्यालयले मणि खाद्यान्न सेन्टरलाई जरिवाना गराउने निर्णयसम्बन्धी जानकारी गराइएको उहाँले बताउनुभयो ।

Exit mobile version