Home मुख्य समाचार प्रदेश योजना आयोगका सदस्यको पाँच दिनमै राजिनामा

प्रदेश योजना आयोगका सदस्यको पाँच दिनमै राजिनामा

फागुन १० गते मुख्यमन्त्री शालिकराम जमकट्टेलको हातबाट प्रदेश नीति तथा योजना आयोगको सदस्य पदको नियुक्तिपत्र ग्रहण गर्नुहुँदै जयन्त नाथ खनाल ।

हेटौंडाः बागमती प्रदेश नीति तथा योजना आयोगका सदस्य प्रा.डा. जयन्त नाथ खनालले पदको सपथ लिनुभएको पाँचौं दिनमै राजिनामा दिनुभएको छ । फागुन १० गते बुधबार नीति तथा योजना आयोगको सदस्य पदको सपथ ग्रहण गर्नु भई जिम्मेवारी सम्हाल्नु भएका खनालले पाँचौ दिनको दिन आइतबार पदबाट राजिनामा दिनुभएको हो ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सिफारिसमा सदस्य नियुक्त हुनुभएका खनाल प्रदेश सरकारबाट राप्रपाका मन्त्रीहरुले राजिनामा दिएको भोलिपल्ट नै पदबाट राजिनामा गर्नुभएको हो । संघीय सरकारको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रले सत्ता गठबन्धन भन्दा बाहिरको उम्मेदवारलाई राष्ट्रपतिमा समर्थन जनाएपछि राप्रपाले संघीय सरकार छाड्ने निर्णय गरेको थियो । संघीय सरकार छाडेसँगै बागमती प्रदेश सरकारमा राप्रपाका उद्धव थापा नेतृत्वको तीन जना मन्त्रीले शनिबार साँझ मुख्यमन्त्रीलाई राजिनामा बुझाएका थिए ।

पार्टीले सरकार छाडेपछि नैतिकताका आधारमा पदबाट राजिनामा दिएको प्रा.डा. खनालले बताउनुभयो । राप्रपा केन्द्रीय सदस्य समेत रहनुभएका प्रा.डा. खनालले वासेरमार्फत प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्षसमक्ष राजिनामा दिनुभएको हो । बागमती प्रदेश सरकारका प्रमुख सचिव मुकुन्द निरौलाका अनुसार प्रदेश नीति तथा योजना आयोगका सदस्यले उपाध्यक्ष सामु राजिनामा बुझाएपछि स्वतः पदमुक्त हुने व्यवस्था छ । मंगलबार बिहान प्रदेश मन्त्रिपरिषद्को बैठकमा प्रमुख सचिव निरौलाले नीति तथा योजना आयोजनाका सदस्य प्रा.डा. खनालले पदबाट राजिनामा दिनुभएको जानकारी गराउनुभएको थियो ।

Exit mobile version