हेटौंडाः हेटौंडा–४ स्थित पारिजातपथमा रहेको शिव शिखर बहुद्देश्यीय सहकारीमा तल्चा लगाएर सञ्चालक फरार भएको बचतकर्ताहरुले अरोप लगाएको छ । बुधबार सहकारीको कार्यालयमा चल्ती खातामा रहेको रकम झिक्न आएका बचतकर्ताहरुले अरोप लगाएको हो ।
ढोकामा तल्चा लगाएको देखिएपछि बचतकर्ताहरुले शेयर सदस्यहरुलाई बोलाएर समेत आन्दोलन गरेका छन् । सहकारी बन्द गरेर सञ्चालक फरार भएपछि बचतकर्ताहरुले करोडौं रुपैयाँ बचत जोखिममा परेको बताएका छन् । गत वर्ष २०७७ साल पुषमा शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड भक्तपुरको शाखा खोलिएको बताएको छ । हेटौंडामा रहेको उक्त सहकारी १६ औं शाखा रहेको पाइएको छ ।
सहकारीले करिब ३ करोड रुपैयाँको लागतमा डिपार्टमेन्ट स्टोर पनि सञ्चालन गरेको छ । मार्टबाट घरायसी, खाद्यान्न, इलेक्ट्रोनिक्स, कपडा, पेय पदार्थ लगायतका वस्तु बिक्री हुने गरेको छ । सहकारीको ढोका बन्द भएपछि बचतकर्ताहरुले मार्ट घेराबन्दी समेत गरेका छन् । सहकारीका अध्यक्षदेखि कर्मचारीसम्मको फोन स्वीचअफ रहेको बचतकर्ताहरुले बताएका छन् ।