हेटौंडाः आज सोमबार मकवानपुरका प्रायः शैक्षिक संस्थाहरु बन्द हुने भएको छ । आइतबार प्रजातन्त्र दिवसको दिन सरकारले सार्वजनिक बिदा दिएपछि बन्द भएका शैक्षिक संस्थाहरु सोमबार पनि बन्द हुने भएको हो ।
मकवानपुरका १० पालिकामा रहेका प्रायः शैक्षिक संस्थाहरु बन्द हुने भएका हुन् । राक्सिराङ गाउँपालिका, बकैया गाउँपालिका, मकवानपुरगढी गाउँपालिका, हेटौंडा उपमहानगरपालिका, मनहरी गाउँपालिका, थाहा नगरपालिका, इन्द्रसरोवर, भीमफेदी गाउँपालिका, कैलाश गाउँपालिका, बागमती गाउँपालिकाका प्रायः शैक्षिक संस्था बन्द हुने भएका हुन् । केही शैक्षिक संस्थाहरु भने खुला हुने भएको छ ।
हेटौंडा–४ स्थित आधुनिक राष्ट्रिय माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक दीपक अधिकारीका अनुसार विद्यालयको बिदा कटौति गरिएको छ । उहाँका अनुसार आइतबार सार्वजनिक बिदापछि फेरि मंगलबार पनि सार्वजनिक बिदा भएकाले सोमबार विद्यालयले बिदा मिलाएको छ । यसैगरी राक्सिराङ गाउँपालिका–८ मा रहेको श्री माध्यमिक विद्यालयका प्रधानाध्यापक राजु रेग्मीले राक्सिराङमा पनि शैक्षिक संस्था बन्द हुने बताउनुभयो ।
मकवानपुरगढी गाउँपालिकामा रहेको चण्डिका माध्यमिक विद्यालयका प्रधानाध्यापक कमल फुँयालका अनुसार पालिकाले नै स्थानीय बिदा कटौति गरेर सोमबार शैक्षिक संस्था बन्द गरिएको छ । जसले गर्दा मकवानपुरगढीमा शैक्षिक संस्थाहरु बन्द हुने उहाँले बताउनुभयो । हेटौंडा–४ स्थित नवोदय सदन बोर्डिङ स्कूलमा भने विद्यालयमा परीक्षा संचालन भएका कारण विद्यालय खुला गरिएको विद्यालयका शिक्षक सिएम रिमालले जानकारी दिनुभयो ।
हेटौंडामा प्रायः सामुदायिक शैक्षिक संस्थाहरु बन्द भएको अवस्थामा हेटौंडा–२ स्थित मकवानपुर बहुमुखी क्याम्पसँगै अधिकांश संस्थागत विद्यालयहरु आज खुला हुने छ । यस्तै, फेरि मंगलबार ग्याल्बो ल्होछारका कारण सरकारले सार्वजनिक बिदा दिएको छ । जसले गर्दा सोमबार खुलेका शैक्षिक संस्थाहरु बन्द हुनेछ । बुधबारदेखि भने मकवानपुरका सबै शैक्षिक संस्था खुला हुनेछ ।
