Home खेलकुद लगातार तेस्रो पटक बुद्ध माविलाई उपाधि

लगातार तेस्रो पटक बुद्ध माविलाई उपाधि

उपाधीसाथ बुद्ध माविको टोली ।

हेटौंडाः १३ औँ संस्करणको मकवानपुर जिल्लास्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता उपाधी बकैया गाउँपालिकास्थित बुद्ध माविले जितेको छ । शनिबार र आइतबार हेटौंडामा भएको प्रतियोगितामा १० स्वर्ण, ३ रजत र ५ कास्यसहित बुद्ध माविले उपाधी जितेको हो ।

हेटौंडा–१६, हटियास्थित जनप्रिय मावि ३ स्वर्ण र ५ रजतसहित द्वितीय भएको छ । आइतबार सञ्चालन भएको कबड्डी खेलमा महिलातर्फको उपाधी बागमती गाउँपालिकास्थित जनता माविले जितेको थियो । मनहरी गाउँपालिकास्थित बालज्योति माविलाई हराउँदै जनता माविले कबड्डीमा स्वर्ण जितेको हो । यस्तै, पुरुषतर्फको कबड्डी थाहा नगरपालिकास्थित बज्रबाराही माविले जितेको थियो । हेटौंडा–१६, हटियास्थित जनप्रिय माविलाई हराउँदै बज्रबाराहीले उपाधी जितेको हो । पुरुष भलिबलतर्फ भीमफेदीको लेकाली बसिफाँट मावि प्रथम भएको छ । हेटौंडास्थित निर्मल माविलाई हराउँदै लेकालीले स्वर्ण जितेको हो । यस्तै महिलातर्फको भलिबलमा मकवानपुरगढीको भानु माविले प्रथम भएको थियो । भानु माविले थाहा नगरपालिकाको मत्स्यनारायण माविलाई हराएको हो ।

जिल्ला खेलकुद विकास समिति मकवानपुरका अध्यक्ष वेश खड्गीको सभाध्यक्षता तथा हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मिना कुमारी लामाको प्रमुख आतिथ्यमा भएको पुरस्कार वितरण कार्यक्रममा भीमफेदी गाउँपालिकाका प्रमुख हिदम लामा, जिल्ला खेलकुद विकास समिति मकवानपुरका कार्यालय प्रमुख माधव कोइराला र बकैया गाउँपालिका खेलकुद विकास समितिका अध्यक्ष विजय लामा थिङ लगायतको आतिथ्य रहेको थियो ।

Exit mobile version