कार्यक्रमको उद्घाटन गर्दै हेटौंडा ३ का वडा अध्यक्ष ढलक बहादुर थापा ।

हेटौंडाः हेटौंडा–३ स्थित सनसाईन ईङ्गलिस बोर्डिङ्ग स्कुलको २३ औं अभिभावक भेला तथा पुरस्कार वितरण समारोह सुरु भएको छ । शुक्रबार विद्यालय व्यवस्थापन समितिका सदस्य कृष्ण हरि बर्तौलाको सभाध्याक्षता तथा हेटौंडा उपमहानगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष ढलक बहादुर थापाको प्रमुख आतिथ्यतामा कार्यक्रम सुरु भएको हो ।

कार्यक्रम शुक्रबार र शनिबार दुई दिन संचालन हुनेछ । शुक्रबार नर्सरीदेखि ४ कक्षासम्म र शनिबार कक्षा ५ देखि १० सम्मका विद्यार्थीको गायन, नृत्य तथा वार्षिक परिक्षामा प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीलाई पुरस्कार वितरण गरिने स्कुलका प्रधानाध्यापक राजकुमार नहर्कीले बताउनुभयो । हाल सनसाईनका विद्यार्थीहरु स्कुलबाट एसईई उत्तिर्ण गरी विभिन्न शैक्षिक क्षेत्रका विषयमा छात्रवृत्ति पाउन सफल हुनुका साथै विद्यार्थीहरु विभिन्न रोजगारीमा आबद्ध भएको उहाँले बताउनुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रमुख अतिथि वडा अध्यक्ष ढलक बहादुर थापाले स्कुलका जेहेन्दार तथा विपन्न परिवारका विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था गरिने बताउनुभयो । कार्यक्रममा स्कुलका शिक्षक, कर्मचारी, अभिभावक तथा विद्यार्थीहरुको उपस्थिति रहेको छ । हाल स्कुलमा ८ सय जना विद्यार्थी अध्यनरत रहेका छन् ।