Home मुख्य समाचार निजी विद्यालयमा एसईई अभ्यास परीक्षा सुरु

निजी विद्यालयमा एसईई अभ्यास परीक्षा सुरु

हेटौंडा–२ स्थित बालजागृति इंग्लिस सेकेण्डरी स्कूलमा परीक्षा दिँदै विद्यार्थीहरु ।

हेटौंडाः निजी विद्यालयमा विद्यालय शिक्षा परीक्षा (एसईई) अभ्यास परीक्षा सुरु भएको छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याव्सन) मातहतका देशभरका विद्यालय एकसाथ आइतबारबाट अभ्यास परीक्षा सुरु भएको हो । परीक्षामा मकवानपुरका ३७ विद्यालयका १ हजार १ सय ९४ विद्यार्थी सहभागी रहेको प्याव्सन मकवानपुरका अध्यक्ष विनोद सुवेदीले जानकारी दिनुभएको छ ।

जिल्लाका ३७ विद्यालयमा कक्षा १० मा अध्ययनरत १ हजार १ सय ९६ विद्यार्थीमध्ये एकजना विद्यार्थी भने हात भाँचिएर अभ्यास परीक्षामा सहभागी हुन नसकेको अध्यक्ष सुवेदीले जानकारी दिनुभयो । अर्का एकजना विद्यार्थी सम्पर्कमै नआएको उहाँको भनाइ छ । प्याव्सनले राष्ट्रिय परीक्षा बोर्डले लिने परीक्षाकै ढाँचामा विद्यार्थीलाई परीक्षाको अभ्यास गराएको प्याव्सन मकवानपुरका अध्यक्ष सुवेदीले जानकारी दिनुभयो । प्याव्सन मकवानपुरले जिल्लाका ३७ विद्यालयका विद्यार्थीलाई ८ वटा परीक्षा केन्द्र कायम गरी फरक विद्यालयमा विद्यार्थीलाई परीक्षामा सहभागी गराएको छ ।

हेटौंडा उपमहानगरपालिकामा ५ वटा परीक्षा केन्द्र तोकेको प्याव्सनले थाहा नगरपालिकामा २ वटा र मनहरी गाउँपालिकामा एउटा परीक्षा केन्द्र निर्धारण गरेको छ । परीक्षा बिहान ७ बजेदेखि सुरु हुनेछ । अभ्यास परीक्षा माघ २३ गते सकिने छ । अभ्यास परीक्षामा सहभागी विद्यार्थीको प्रस्तुतीका आधारमा एसईईका लागि थप सुधार गर्न सहयोगी हुने अपेक्षा गरिएको प्याव्सन मकवानपुरका अध्यक्ष विनोद सुवेदीले बताउनुभएको छ । यसैबीच राष्ट्रिय परीक्षा बोर्डले एसईईको तालिका सार्वजनिक गर्दै चैत १७ गतेदेखि परीक्षा सञ्चालन गर्ने जनाएको छ ।

Exit mobile version