Home मुख्य समाचार पुस्तक दिवस तथा सरस्वती पुजाः पठन संस्कृतिको विकासमा पुस्तकालयको भूमिका विषयक बहस

पुस्तक दिवस तथा सरस्वती पुजाः पठन संस्कृतिको विकासमा पुस्तकालयको भूमिका विषयक बहस

पठन संस्कृतिको विकासमा पुस्तकालयको भूमिका विषयक बहसमा सहभागी किशोर साहित्यकारहरु ।

हेटौंडाः दसौं पुस्तक दिवस तथा सरस्वती पुजाको अवसरमा हेटौंडा–५ स्थित पुष्पलाल स्मृति पुस्तकालयले पठन संस्कृतिको विकासमा पुस्तकालयको भूमिका विषयक बहसको आयोजना गरेको छ । किशोर–किशोरी साहित्यकारसँग पुस्तकालयले बहस गरेको हो । साहित्य संगम मकवानपुरका सचिव तथा पुष्पलाल पुस्तकालय व्यवस्थापन समितिका संयोजक डीबी बर्तौलाले सहजीकरण गर्नुभएको बहसमा साहित्यकार समर्पण न्यौपाने, उषाकिरण अधिकारी र ऋत्विक केबी सहभागी हुनुहुन्थ्यो ।

बहसमा सहभागी किशोर–किशोरीले पठन संस्कृतिको विकासका लागि पुस्तकालय अनिवार्य सर्त भएको उल्लेख गर्दै स्रोतसाधन र प्रविधियुक्त पुस्तकालय स्थापनामा जोड दिनुपर्ने उल्लेख गरे । पुस्तकालयको स्थापना र प्रभावकारी व्यवस्थापनमा स्थानीय सरकारको ध्यान जानुपर्नेमा पनि सहभागीको भनाइ थियो । साहित्य संगम मकवानपुरकी अध्यक्ष अनिता न्यौपानेको अध्यक्षता तथा हेटौंडा उपमहानगरपालिकाको सामाजिक विकास महाशाखाका अधिकृत भैरवबहादुर कुमालको प्रमुख आतिथ्यमा बहस भएको हो ।

प्रमुख अतिथि कुमालले हेटौंडा उपमहानगरपालिकाले पुस्तकालयका लागि विनियोजन गरेको बजेट पर्याप्त नभए पनि आगामी दिनमा यसलाई बढाउन र उपयोग गर्न सकिने उल्लेख गर्नुभएको छ । पुस्तकालयको प्रयोगप्रति समुदायको चासो बढाउँदै पुस्तकालय स्थापना र विस्तार गर्दै लैजानुपर्नेमा पनि उहाँले जोड दिनुभयो । कार्यक्रममा पुस्तकालय अभियन्ता एवम् पत्रकार सुरेश श्रेष्ठले अभिभावकलाई नै पढ्न प्रेरित गर्नुपर्ने र वडा–वडा हुँदै टोल–टोलमा पुस्तकालय स्थापना गर्न समुदायको सक्रियता र स्थानीय सरकारको लगानी जरुरी रहेको औँल्याउनुभयो ।

साहित्यकार दीपक गौतमले भौतिकरुपमा स्थापित पुस्तकालयलाई प्रविधिमैत्री बनाई डिजिटलस्वरुपमा पनि प्रयोग गर्न सकिने बताउनु आवश्यक रहेको उल्लेख गर्नुभयो । भौतिक पुस्तकजस्तो डिजिटल पुस्तक उपयोगी र सहज नहुने पनि उहाँको धारणा थियो । साहित्य संगम मकवानपुरकी अध्यक्ष अनिता न्यौपानेले उपमहानगरपालिकाको सहयोगमा पुस्तकालय नियमितरुपमा सहजै सञ्चालन भएको जानकारी दिनुभयो । पुस्तकालयप्रति पाठकको ध्यान आकर्षित गर्न भने कठिन बन्दै गएको न्यौपानेले बताउनुभयो ।

Exit mobile version