Home अर्थ/व्यापार सहकारीमार्फत तरकारी वितरण सुरु, पहिलो चरणमै दोब्बर माग

सहकारीमार्फत तरकारी वितरण सुरु, पहिलो चरणमै दोब्बर माग

तरकारी वितरण सुरुवात गरिएको कार्यमा सहभागी बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल तथा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामा ।

हेटौंडाः लकडाउनका बेला उपभोक्ताले सहज रुपमा उपभोग्य वस्तु खरिद गर्न नपाइरहेका बेला मकवानपुर जिल्ला सहकारी संघको समन्वयमा जिल्लाका विषयगत सहकारी संघमार्फत कृषि उपज विक्री वितरणको कार्य आजबाट सुरु भएको छ । जिल्ला कृषि सहकारी संघ मकवानपुरको हेटौंडा–४, हुप्रचौरस्थित कृषि मार्टबाट प्याकेजिङ गरेर तरकारी विक्री वितरण सुरु भएको हो ।

बज्रबाराहीबाट आएको तरकारी अनलोड गर्दै ।

जिल्लाको उत्तरीक्षेत्र थाहा नगरपालिकाको बज्रबाराही क्षेत्रबाट आज बिहान आइपुगेको तरकारी काउली, मुला, मटरकोसा र हरियो धनियाँ प्याकेजिङ गरेर आजबाट विक्री वितरण सुरु गरिएको हो । जिल्ला सहकारी संघ मकवानपुरले बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाको उपस्थितिमा आज बिहान सहकारीमार्फत तरकारी विक्री वितरणको कार्यको सुरुवात गरेको छ ।

तरकारी प्याकेजिङ गर्दै ।

सहकारीले काउली, मुला, मटरकोसा र धनियाँ राखेर कुल चार केजी छ सय ग्रामको प्याकेट एक सय १५ रुपैयाँमा विक्री गरेको छ । जिल्लाका विभिन्न सहकारी संस्थाहरुले माग गरेबमोजिम तरकारी वितरण गरिएको जिल्ला कृषि सहकारी संघ मकवानपुरका व्यवस्थापक नरेश आचार्यले जानकारी दिनुभयो । बज्रबाराहीबाट आएको दुई हजार एक सय केजी काउली, एक हजार चार सय ५० केजी मुला, आठ सय ५० केजी मटरकोसा र ४० केजी हरियो धनियाँ आज वितरण गरिएको छ । बागमती प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले उपलब्ध गराएको एउटा गाडीमार्फत जिल्लाका विभिन्न सहकारी संस्थामा तरकारी पुर्‍याइएको छ ।

सहकारी संस्थामा तरकारी वितरणका लागि भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले उपलब्ध गराएको गाडीमा ढुवानी गरिँदै ।

पहिलो चरणमा करिब तीन हजार केजी तरकारी ल्याउने योजना बनाए पनि माग झण्डै दोब्बर भएसँगै बज्रराहीबाट कुल चार हजार चार सय ४० केजी तरकारी ल्याइएको थियो । विभिन्न सहकारीले एक हजार एक सय प्याकेट तरकारी माग आएको जिल्ला कृषि सहकारी संघ मकवानपुरका व्यवस्थापक गोविन्द दाहालले जानकारी दिनुभयो । मागअनुसार वितरणको प्रयास भइरहेको उहाँको भनाइ छ । सहकारीले एक दिन बिराएर तरकारी ल्याई वितरण गर्ने जनाएको छ । अब शुक्रबार बिहान थाहा नगरपालिकाकै चित्लाङ क्षेत्रका साथै मनहरी गाउँपालिकाबाट पनि तरकारी ल्याउने जनाएको छ । मनहरी गाउँपालिकाबाट लहरेबालीअन्तर्गत बोडी र करेला ल्याउने कृषि सहकारी संघका व्यवस्थापक नरेश आचार्यले जानकारी दिनुभयो ।

हेटौंडा–६, चौघडास्थित जनकल्याण बचत तथा ऋण सहकारी संस्थामा तरकारी लिन लामबद्ध उपभोक्ता ।

तरकारीको प्याकेजिङ र वितरणमा सहकारी संघका व्यवस्थापक र कर्मचारीहरु नै स्वयम्सेवी रुपमा खटिएका छन् । उनीहरुले परीक्षणको रुपमा प्याकेजिङको प्रयास भएको जनाउँदै यसलाई नियमित र व्यवस्थित बनाउँदै लैजाने जनाएका छन् । आज बिहान तरकारी वितरण व्यवस्थापनका विषयमा जिल्ला सहकारी संघ मकवानपुरका अध्यक्ष नारायण देवकोटा, निवर्तमान अध्यक्ष बद्रिप्रसाद लम्सालले निरीक्षण गर्नुहुँदै अहिलेको कामको समीक्षा गरेर आवश्यकताअनुसार काम गर्न व्यवस्थापकहरुलाई निर्देशन दिएका छन् ।

Exit mobile version