Home समाचार एकीकरण मार्ग पदयात्री नुवाकोट पुग्यो

एकीकरण मार्ग पदयात्री नुवाकोट पुग्यो

पदयात्रीलाई नुवाकोटमा स्वागत गर्दै ।

हेटौंडाः पृथ्वीजयन्तीलाई लक्षित गर्दै गोरखा दरबारको हनुमान भञ्ज्याङबाट नेपाली सेनाका ३० जनासहितको टोलीको पदयात्री नुवाकोट पुगेको छ । आइतबार बिदुर नगरपालिकाका शुभघाटमा नगर प्रमुख राजन श्रेष्ठ तथा उप प्रमुख प्रभा वोगटीले पदयात्रीलाई स्वागत गर्नुभएको हो ।

नेपाली सेना जवरजंग गणका सेनाहरुको अगुवाई एकीकरण मार्ग पदयात्री नुवाकोट पुगेका हुन् । राष्ट्रपिता पृथ्वी नारायण शाहले वाईसे चौविसे राज्यलाई एकीकरण गरी एक विशाल राष्ट्र निर्माण गरेको मार्ग पछ्याउँदै उक्त एकीकरण मार्ग पदयात्रा गरिने प्रमुख सेनानी अर्जुन कार्कीले बताउनुभयो । स्वागत कार्यक्रममा बोल्दै नगर उपप्रमुख प्रभा वोगटीले एकीकरण मार्गलाई थप ब्यवस्थित गर्न डिपिआर गर्न पहल गर्ने र नुवाकोटको ऐतिहासिक धरोहरको संरक्षण तथा प्रबर्द्धनमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

नुवाकोटको प्रमुख जिल्ला अधिकारी नारायण रिसालले नुवाकोट एक ऐतिहासिक सम्पदाले सुसज्जित जिल्ला भएकोले एकीकरण पदमार्गका बिकासले पर्यटन लगायतको क्षेत्रको विकासमा महत्वपूर्ण अवसर रहेको र ईतिहासको जर्गेनाका आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा बोल्दै नगर प्रमुख राजन श्रेष्ठले नेपाल एकीकरणले नेपाल र नेपालीको शान तथा मर्यादामा कोसेढुङ्गा सावित भएको बताउनुभयो । उहाँले नेपालको संविधानमा सेनालाई निर्दिष्ट गरिएको जिम्मेवारी अन्तर्गत ऐतिहासिक धरोहरको संरक्षण र सम्वर्द्धनमा योगदान पुर्याउने उद्देश्य एकीकरण पदयात्राको शुरुवात २०७६ सालदेखि भएको जानकारी गराउनुभयो ।

एकीकरण अभियानमा योद्धाहरुले हिँडेको बाटो, बनाएका दरबार, किल्ला तथा गढीहरुलाई एक–आपसमा जोडेर राष्ट्रिय एकताको भावना जागृत गर्ने, पूर्खाको गौरबपूर्ण इतिहासको महत्व दर्शाउने, राष्ट्रिय एकताको भावना जागृत गर्ने विचार राख्नुभयो । स्वागत कार्यक्रमको मुख्य अगुवाई वडा नम्बर २ का अध्यक्ष दिपक कायस्थले लिनु भएको थियो भने बिदुर नगरपालिका वडाध्यक्षहरु, सुरक्षा निकायका प्रमुखहरु, कार्यालय प्रमुखहरु, नागरिक समाजका अगुवाहरु लगायत स्थानीयहरुको उपस्थिति रहेको थियो । पद यात्रा पुस २१ गतेबाट सुरु भई पुस २६ गते काठमाडौं पुगेर राष्ट्रिय एकता दिवसमा समापन गरिने छ ।

Exit mobile version