Home खेलकुद भेट्रान्स कप फुटबल सुरु

भेट्रान्स कप फुटबल सुरु

रेफ्रीलाई बल हस्तान्तरण गरी प्रतियोगिताको उद्घाटन गर्नुहुँदै हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मीना कुमारी लामा ।

हेटौंडाः हेटौंडामा आठौं हेटौंडा राष्ट्रिय भेट्रान्स कप ८ ए साइड रनिङ शिल्ड फुटबल प्रतियोगिता सुरु भएको छ । हेटौंडा–५, पिप्लेस्थित पिप्ले–क्याम्पा रंगशालामा हेटौंडा भेट्रान्स क्लबका अध्यक्ष रमेश उप्रेतीको सभाध्यक्षता तथा हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मीनाकुमारी लामाको प्रमुख आतिथ्यमा मंगलबार प्रतियोगिताको उद्घाटन गर्नुभयो ।

प्रतियोगिताको उद्घाटन कार्यक्रममा अखिल नेपाल फुटबल संघ (एन्फा) को केन्द्रीय सदस्य एवम् मकवानपुर जिल्ला अध्यक्ष टिका लामा, एन्फा बागमती प्रदेश समिति अध्यक्ष राजेन्द्र श्रेष्ठ, बागमती प्रदेश खेलकुद परिषद्का सदस्य सचिव सूर्यलाल भण्डारी, मकवानपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष वेश खड्गीको पनि आतिथ्य रहेको थियो ।

मंगलबार पहिलो दिन ४ खेल भएका छन् । उद्घाटन खेलमा सिमरा भेट्रान्स बाराले पशुपति भेट्रान्स हेटौंडालाई २–१ गोलको अन्तरले पराजित गरेको छ । खेलको म्यान अफ द म्याच सिमरा भेट्रान्सका सोनु खत्री हुनुभयो । दोश्रो खेलमा जोरपाटी भेट्रान्स काठमाडौले पूर्वी चितवन भेट्रान्सलाइ ५–० को फराकिलो अन्तरले पराजित गरेको छ । म्यान अफ द म्याच जोरपाटी भेट्रान्सका ह्याट्रिक गर्ने खेलाडी रमेश गुरुङ घोषित हुनुभयो ।

तेस्रो खेलमा हेटौंडा भेट्रान्सले गोर्खा भेट्रान्सलाई १–० गोलअन्तरले जितेको छ । म्यान अफ द म्याच गजेन्द्र लामा घोषित हुनुभयो । चौथो खेलमा चितवन भेट्रान्स र एबीसी पोखरा भेट्रान्सबीच १–१ को बराबरी भएपछि टाइब्रेकरमा ५–४ गोलअन्तरले एबीसी पोखरा भेट्रान्स विजयी भएको छ । पुस २३ गते प्रतियोेगिताको फाइनल खेल हुनेछ ।

प्रतियोगितामा प्रथम हुने टिमले नगद १ लाख ११ हजार १ सय ११ रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । दोस्रो हुने टिमले नगद ५५ हजार ५ सय ५५ रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

Exit mobile version