निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको घटनामा पुनः अनुसन्धान गरिने भएको छ । २०७५ साल साउन १० गते कञ्चनपुरको भीमदत्त नगरपालिका–२ की १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको थियो । तत्कालीन समयमा यो घटनाले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चर्चा र चासो पाएको थियो । निर्मलाको बलात्कारी र हत्यारा पत्ता लगाउन थुप्रै दबावमूलक आन्दोलन भए पनि तत्कालीन प्रहरी प्रशासन सफल हुन सकेको थिएन । निर्मलाको बलात्कारपछि गरिएको हत्याको घटनाले देशको राजनीतिसमेत तरंगीत भए पनि अपराधी पत्ता लगाउन नसकेपछि तत्कालीन सरकार र प्रहरी प्रशासनको विश्वसनीयतामाथि नै प्रश्नचिन्ह खडा भएको थियो । घटना भएको करिब ४ वर्ष १० महिनापछि पुनः निर्मला हत्या प्रकरणमा अनुसन्धानका लागि नयाँ समिति गठन भएको छ । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको निर्देशनमा अनुसन्धानका लागि प्रहरी प्रधान कार्यालय, नक्सालले नयाँ समिति गठन गरेर काम सुरु गरेको छ ।
करिब एक साताअघि गृहमन्त्रीको कार्यभार सम्हाल्दा नै लामिछानेले निर्मला पन्तको न्यायका लागि अधिकतम पहल गर्ने निर्णयमा हस्ताक्षर गरेका थिए । गृहमन्त्रीको निर्णय कार्यान्वयनका क्रममा प्रहरीले पाँच सदस्यीय छानबिन समिति गठन गरेको हो । निर्मला प्रकरणको अनुसन्धान नयाँ शिराबाट गर्न कार्यादेश दिइएको प्रहरी उच्च स्रोतको भनाइ छ । अहिलेको अनुसन्धान टोलीमा रहेका अधिकांश अधिकारीहरु तत्कालीन समयमा पनि अनुसन्धानमा खटिएकाहरु नै छन् । निकै रहस्यमय बनेको निर्मला प्रकरणमा प्रहरीले ११५ जना शंकास्पदको डीएनए जाँच गरेको भए पनि घटनाका दोषी पत्ता लाग्न सकेको छैन । निर्मलाको बलात्कारपछि हत्या भएको घटनाको छानविन गर्न सरकारले थुप्रै आयोग र समिति बनाएको थियो । सबैले आ–आफ्ना प्रतिवेदन पनि दिएका थिए । ती प्रतिवेदनले घटनाको दोषी पत्ता लगाउन सकेन । प्रहरीले पनि विभिन्न कोणबाट अनुसन्धान गरेको थियो, जुन अनुसन्धान सार्थक हुन सकेको थिएन ।
त्यसबेला घटनालाई लिएर सडकदेखि सदनसम्म चर्को आवाज उठेको थियो । निर्मलालाई न्याय दिने विषयमा राजनीतिक दल, नागरिक समाज, महिला अधिकारकर्मी, बौद्धिक वर्ग, सामाजिक अभियन्ता र आमसर्वसाधारणले आ–आफ्नै किसिमको दबावमूलक कार्यक्रम सञ्चालन गरेका थिए । निर्मला हत्याको यथार्थ बाहिर ल्याउन देशभरबाट जनआक्रोश बढेपछि सरकारले कञ्चनपुरका प्रहरी, प्रशासनका प्रमुखहरुको हेरफेरसमेत गरेको थियो । केही प्रहरी अधिकारीलाई निलम्बन पनि गरिएको थियो । घटनाको रहस्य नसुल्झिएपछि शंकास्पद भन्दै धेरै जनालाई पक्राउ गर्ने काम भए पनि अनुसन्धानका क्रममा प्रहरीले केही ठोस तथ्य, प्रमाण फेला पार्न सकेन । निर्मलाको बलात्कार र हत्या प्रकरणमा सरकारी संयन्त्रले प्रभावकारी अनुसन्धान गर्न नसकेकोप्रति तत्कालीन समयमा मिडियाकर्मीको हिसाबले रबि लामिछानेले चर्को आलोचना गरेका कारण पनि अहिले गृहमन्त्री भएपछि त्यसको अनुसन्धान पुनः सुरु गरेर निर्मलालाई न्याय दिन पहल गर्न खोजेको हुनसक्छ ।
निर्मला पन्त प्रकरणको अपराधी पत्ता लगाउन नसक्नुमा तत्कालीन प्रहरी प्रशासनको कमजोरी रहेको धेरैले अनुमान गरेकै हुन् । सुरक्षा निकायले इमान्दारपूर्वक अनुसन्धान गरेर धेरै जटिल घटनाहरुको अपराधी पत्ता लगाएको धेरै उदाहरणहरु छन् । रहस्यमय बनिरहेको निर्मला प्रकरणका कारण आलोचित बनेको सुरक्षा निकायका लागि प्रभावकारी अनुसन्धान गरेर जनविश्वास आर्जन गर्ने अवसर पुनः आएको छ । नवगठिन अनुसन्धान समितिले यो घटनाको सत्यतथ्य उजागर गर्न सकेमा निर्मलालाई न्याय मिल्नेछ । घटनाको वास्तविकता उजागर भएमा प्रहरी प्रशासनप्रतिको जनविश्वास वृद्धि हुनेछ । यसले दण्डहिनताको अन्त्य गर्नसमेत मद्दत पुग्नेछ । मुलुकमा बढ्दो बलात्कार र महिला हिंसाका घटना न्यूनीकरणमा समेत सहयोग पुग्ने निश्चित छ ।
