Home मुख्य समाचार स्पेनिस स्वयमसेवीले लेखे बेचिएकी मकवानपुरे चेलीको कथा

स्पेनिस स्वयमसेवीले लेखे बेचिएकी मकवानपुरे चेलीको कथा

होसेले लेख्नुभएको पुस्तकको कभर फोटो ।

हेटौंडाः २२ वर्षअघि २ वर्षका लागि स्वयम्सेवकका रुपमा मकवानपुर आइपुग्नु भएका स्पेनिस नागरिक होसे मारिया डियाज पेरेज स्वयम्सेवाको अवधि पूरा भए पनि मकवानपुरमा रहेर सेवा गर्ने रहर भने पूरा भएन । सन् २००० मा मकवानपुर आइपुग्नुभएका होसे २ वर्षे स्वयम्सेवाको कार्यकाल पूरा भएर सन् २००२ मा स्पेन फर्कनुभएको एक वर्षपछि सन् २००३ मा फेरि मकवानपुर आउनुभयो । विशेषगरी महिला बेचबिखनका घटनाबारे जानकारी पाएर दुःखी हुनुभएका होसे स्वयम्सेवाको कार्यलाई जारी राख्न मकवानपुर आइपुग्नु भएको हो ।

लेखक होसे ।

२२ वर्ष मकवानपुरमा रहेर काम गर्दै गर्दा होसेले यौनशोषणका लागि भारतको कोठीमा बेचिएकी मकवानपुरे चेलीको कथाको पुस्तक लेख्नुभएको छ । ५ वर्षअघि स्पेनिस भाषामै लेख्नुभएको पुस्तक अंग्रेजी हुँदै नेपाली भाषामा अनुवाद गरेर विमोचन गरिँदैछ । यही मंसिर २४ गते शनिबार हेटौंडा–११ स्थित ग्रामीण असहाय बालबालिका सामुदायिक पुनर्स्थापना केन्द्रमा नेपाली भाषामा अनुवाद गरिएको होसेको पुस्तक “शान्ति” को विमोचन हुँदैछ ।

स्पेनिस भाषामा प्रकाशन भएको ३ वर्षपछि अंग्रेजी भाषामा होसेको पुस्तक अनुवाद गरिएको थियो । यौन शोषणका लागि नेपाली चेली बेचिएको कथा, उनीहरु बेचिनुपर्ने कारण र भोग्नु परेका दुःख र पीडालाई समेटेर पुस्तक तयार पारिएको होसेको भनाइ छ । सन् २००३ मा मकवानपुर आउने क्रममा होसेले बेचबिखनको जोखिममा रहेका किशोरी, महिलाको संरक्षणको क्षेत्रमा काम गर्न एडुकानेपालको स्थापना गरी स्पेनबाट सहयोग संकलनको सुरुवात गर्नुभएको थियो । अहिले एडुकानेपालसँगको सहकार्यमा ग्रामीण असहाय बालबालिका सामुदायिक पुनर्स्थापना केन्द्रले बेचबिखनको जोखिममा रहेका किशोरी तथा महिलाको संरक्षणमा कार्य गर्दै आएको छ ।

मकवानपुरमा रहेर पनि अभियन्ताकै रुपमा परियोजना सञ्चालनमा सक्रिय होसे अंग्रेजी विषयको शिक्षक हुनुहुन्छ भने अहिले नेपाली भाषामा सहजै संवाद गर्नुहुन्छ । होसेको पुस्तक स्पेनिस भाषाबाट अंग्रेजी हुँदै नेपाली भाषामा अनुवाद भएर प्रकाशन हुनु खुसीको कुरा भएको र मकवानपुरे चेलीको कथा मकवानपुरे नागरिकले आफ्नै भाषामा अध्ययनको अवसर हुने ग्रामीण असहाय बालबालिका सामुदायिक पुनर्स्थापना केन्द्रका परियोजना व्यवस्थापक केदार आचार्यको भनाइ छ ।

Exit mobile version