हेटौँडा : हेटौँडा–१३, टुटेपानीस्थित चन्द्रोदय आधारभूत विद्यालयको प्रधानाध्यापकमा सपना लामा नियुक्त हुनुभएको छ । मंगलबार बसेको विद्यालय व्यवस्थापन समितिको बैठकले लामालाई प्रधानाध्यापकमा नियुक्त गरेको हो ।
यसअघि प्रधानाध्यापक रहनुभएका सुकुलाल मोक्तानले स्वास्थ्य समस्याका कारण पद छाड्नुभएको नवनियुक्त प्रधानाध्यापक लामाले जानकारी दिनुभयो । मोक्तानले ११ वर्ष विद्यालयमा प्रधानाध्यापकको जिम्मेवारी सम्हाल्नु भएको थियो । लामा २० वर्षदेखि अध्यापन गराउँदै आउनुभए पनि २०७६ सालमा स्थायी शिक्षकमा नियुक्त हुनुभएको हो । २०७७ साल चैतदेखि चन्द्रोदय आधारभूत विद्यालयमा अध्यापन गराउँदै आउनुभएको छ । उहाँले कक्षा ५ सम्म अंग्रेजी तथा कक्षा ६ देखि ८ सम्म स्वास्थ्य विषय अध्यापन गराउँदै आउनुभएको छ ।
विद्यालयमा हाल १३ नम्बर वडाभित्र रहेको सिम्पानी र टुटेपानीका विद्यार्थीहरू अध्ययनरत छन् । विद्यालयमा सिम्पानीबाट आउने विद्यार्थीहरूलाई वर्षाको समयमा खोला तरेर आउनुपर्ने र पछिल्लो समय जंगली जनावरको डरले विद्यार्थी संख्या कम भएको नवनियुक्त प्रधानाध्यापक लामाको भनाइ छ । आगामी दिनमा विद्यार्थीलाई खेल्दै सिक्दै अवधारणामा पठनपाठन गराउने योजना रहेको उहाँको भनाइ छ । विद्यालयमा बजेट कम भएकाले विद्यार्थीका लागि खेल सामग्रीहरूको अभाव रहेको उहाँले बताउनुभयो ।
विद्यालय बस नभएका कारण विद्यार्थीको संख्या घट्दै गएको उल्लेख गर्नुभएकी नवनियुक्त प्रधानाध्यापक लामाले विद्यालय बसको व्यवस्था भएमा विद्यार्थी संख्या बढ्ने जानकारी दिनुभयो । गत वर्ष आधारभूत तह (कक्षा–८) को परीक्षामा १६ जना विद्यार्थी सहभागी भएकामा १५ जना विद्यार्थी ग्रेडेड भएका थिए ।
