Home मुख्य समाचार भौगोलिक विकटताले कैलाशमा योजना सम्झौता भएन

भौगोलिक विकटताले कैलाशमा योजना सम्झौता भएन

कैलाश गाउँपालिकाको भवन ।

हेटौंडाः भौगोलिक रुपमा विकट रहेको कैलाश गाउँपालिकामा योजना सम्झौता गर्न समस्या भएको अध्यक्ष लोकबहादुर मोक्तानले बताउनुभयो । चालु आर्थिक वर्ष २०७९/०८० मा ५१ करोड १५ लाख रुपैयाँ बराबरको बजेट ल्याएको कैलाश गाउँपालिकामा समयमा योजना सम्झौता हुन नसक्दा समस्या भएको उहाँले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “हाम्रो गाउँपालिका भौगोलिकरुपमा बिकट गाउँपालिका हो । हामी निर्वाचित भएर गाउँपालिकामा आएपछि बजेट ल्यायौं । कार्यप्रगति सार्वजनिक गरी योजनाहरु सम्झौता गर्ने क्रममा रहेका छौं । तर, योजनाहरु सम्झौता हुन सकेका छैनन् ।” गाउँपालिकाले ठेक्काको काम सुरु गरेको भन्दै उहाँले भौगोलिक विकटताका कारण उपभोक्ता समितिहरु योजना सम्झौता गर्न आएका छैनन् । सम्झौता गर्न तोकिएको मितिभित्र नआउने र सम्झौता भएपनि भूगोलको कारण समय सीमाभित्र काम हुन नसकेको उहाँले बताउनुभयो । गाउँपालिकाले कार्ययोजना बनाएर बजेट निर्धारण गरेको भन्दै उहाँले बजेट कार्यान्वयनको क्रममा रहेको जानकारी दिनुभयो ।

गाउँपालिकामा कर्मचारी साथीहरुको साथ सहयोग भएकाले काम गर्न सहज भएको उहाँको भनाई छ । जनप्रतिनिधिको रुपमा निर्वाचित भएपछि स्थानीय समस्याहरुसँग प्रत्यक्ष संलग्न भएको उहाँले बताउनुभयो । स्थानीय समस्याहरु र त्यसको समाधानको विषयमा छलफल गरी काम गर्ने अवसर प्राप्त भएको उहाँले बताउनुभयो । सरकारबाट सहयोग प्राप्त नहुँदा पनि काम गर्न समस्या भएको उहाँको भनाइ छ । अघिल्ला वर्षहरुमा संघीय सशर्त भनेर बजेट आउने गरेको भन्दै उहाँले यसवर्ष बजेट कटाएको गुनासो गर्नुभयो । गाउँपालिकाको निजी आम्दानीको स्रोत नहुनु र आर्थिक स्रोत साधन निकै कम भएका कारण समस्या भएको बताउनुभयो ।

गाउँपालिकाले कार्यसम्पादनलाई व्यवस्थित गर्न प्रत्येक महिना कार्यपालिकाको बैठक बस्ने गरेको प्रमुख प्रशासकीय अधिकृत अशोक विष्टले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “हामी केही योजनाहरु निर्माण गरी बैठकमा छलफल गर्छौं । कार्यपालिका सदस्यहरुको सल्लाह सुझावमा कार्यक्रमहरु सञ्चालन गर्छौं । यसले पारदर्शितासँगै कार्यक्रम सञ्चालनमा सहज भएको छ ।” उहाँका अनुसार आगामी २० गते कार्यपालिकाको बैठक बस्दैछ । बैठकमा दहत्तर बहत्तर ठेक्का सम्बन्धमा, करार कर्मचारीको म्याद थप सम्बन्धमा, आधारभूत स्वास्थ्य ईकाइका कर्मचारीहरुको तलब भत्ता सम्बन्धमा, ठेक्कापट्टाबाट बाँकी रहेका रकम रकमान्तर सम्बन्धमा लगायतका एजेण्डाहरु रहेको उहाँले जानकारी दिनुभयो ।

गाउँपालिकाले हालसम्म ७ वटा ठेक्का सार्वजनिक गरेको भन्दै उहाँले सम्झौता गर्ने क्रममा रहेको जानकारी दिनुभयो । उपभोक्ता समितिहरुलाई सम्झौता गर्न कार्यालयमा आउन परिपत्र गरिएको उहाँले बताउनुभयो । यस्तै, गाउँपालिकाले अध्यक्ष–प्रमुख प्रशासकीय अधिकृत बीच र प्रमुख प्रशासकीय अधिकृत–कर्मचारीबीच कार्यसम्पादन सम्झौता गरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले हाम्रो गाउँपालिकामा मुख्य समस्या भनेको सम्झौता गर्न नआउने हो । कम मूल्यमा ठेक्का हाल्ने र ठेक्का परेपछि सम्झौता गर्न नआउने समस्या छ । सम्झौता भएपनि समयमा काम नगर्दा म्याद थप्दा हैरान हुने गरेको छ ।”

यस्तै, गाउँपालिकामा पर्याप्त जनशक्ति नहुँदा काम गर्न समस्या भइरहेको उहाँले बताउनुभयो । उहाँका अनुसार गाउँपालिकामा कर्मचारीको अभावमा सामाजिक विकास, महिला, बालबालिका, जेष्ठ नागरिकको क्षेत्रमा काम गर्न सकिएको छैन । एउटै कर्मचारीले सबै क्षेत्रको काम गर्नुपर्ने समस्या रहेको उहाँले बताउनुभयो ।

Exit mobile version