Home मुख्य समाचार दलको हैसियत फेरियो

दलको हैसियत फेरियो

गत मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतगणना परिणाम आउने क्रम अन्तिममा पुगेको छ । मतगणना रोकिएको बाजुरा र स्याङ्जाको नतिजा आइसकेको छ भने पुनः मतदान गरिएको दोलखाको मतगणना अन्तिम चरणमा पुगेको छ । दोलखाको मतगणना सम्पन्न भएपछि प्रतिनिधिसभा र सबै प्रदेशसभाका प्रत्यक्षतर्फको अन्तिम नतिजा यकिन हुनेछ भने केही दिनमा समानुपातिकको मत परिणाम र दलहरुले पाउने सिट संख्याका आधिकारिक हिसाब आउनेछ । प्रतिनिसभाको प्रत्यक्षतर्फ एक सय ६५ र समानुपातिकतर्फ एक सय १० सदस्य निर्वाचित हुनेछन् । यस्तै, ७ वटै प्रदेशसभामा गरेर प्रत्यक्षमा ३ सय ३० र समानुपातिकमा २ सय २० गरी ५ सय ५० सदस्य निर्वाचित हुनेछन् । यस पटकको निर्वाचनमा प्रतिनिधिसभा र प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरुको हैसियतमा निकै परिवर्तन देखिएको छ ।

२०७४ सालको निर्वाचनमा प्रतिनिधिसभामा नेकपा एमाले एक्लैले प्रत्यक्ष र समानुपातिक गरी १ सय २१ सिट हासिल गरेकोमा यस पटक करिब ८० सिटमा सिमित हुनुपर्ने देखिएको छ । उक्त निर्वाचनमा ५३ सिट रहेको माओवादीसँग पार्टी एकीकरण गरेपछि एमालेको हैसियत झण्डै दुई तिहाइ पुगेको थियो । तर, यसपटकको निर्वाचनमा एमालेसँगै माओवादीको सिट पनि निकै कम भएको छ । प्रत्यक्ष र समानुपातिक गरी माओवादी करिब ३० सिटमा खुम्चनुपर्ने देखिएको छ । यसपटकको निर्वाचनमा प्रतिनिधिसभामा नेपाली कांग्रेस पहिलो दल बन्ने निश्चित भएको छ । गत निर्वाचनमा ६३ सिट पाएको कांग्रेसले यस पटक करिब ९० सिट बनाउने देखिएको छ । गत निर्वाचनमा करिब ३५ सिट हासिल गरेको मधेशवादी दलहरुको सिट पनि यसपटक २५ भन्दा कम नै हुने देखिएको छ । अघिल्लो निर्वाचनमा एकमात्र सिट जितेको राप्रपाले यसपटक लगभग १४ सिट बनाउने छ भने केही महिनाअघि गठन भएको राष्ट्रिय स्वतन्त्र पार्टीले २० भन्दा बढी सिटमा कब्जा गर्ने अवस्था छ । एमालेबाट अलग्गिएको नेकपा समाजवादीले पनि १० सिटमा जितेको छ ।

प्रदेशसभा सदस्यको प्रत्यक्षतर्फको निर्वाचन तथा समानुपातिमा प्राप्त मतका आधारमा दलहरुको हैसियत फेरिने देखिएको छ । अघिल्लो निर्वाचनमा मधेशबाहेक अन्य प्रदेशमा एमाले र माओवादीसहित एकीकरण भएर बनेको नेकपा नेतृत्वमा बहुमतको सरकार बनेको भए पनि यसपटक त्यस्तो हुने अवस्था छैन । १ नम्बर प्रदेशमा एमालेसँगको गठबन्धन गरेका दलहरुको बहुमत पुग्ने भए पनि मधेशमा मेधशवादी दलहरुको वर्चश्वका कारण सत्ता गठबन्धन र एमाले गठबन्धन दुबैको महुमत देखिँदैन । बाँकी प्रदेशमा भने सत्ता गठबन्धनकै बहुमतको सम्भावना देखिएको छ । निर्वाचनमा दलहरुको बदलिएको हैसियतले अबको सरकार कसको नेतृत्वमा कसरी गठन हुन्छ भन्ने आँकलन गर्न निकै कठिन बनेको छ ।

समानुपातिकतर्फको अन्तिम मतपरिणामसँगै समानुपातिकको सिट संख्या टुङ्गो लागेपछि कुन दलको हैसियत के हुने निश्चित हुनेछ । यसपटकको निर्वाचनमा कुनै पनि दलको स्पष्ट बहुमत प्रतिनिधिसभा र प्रदेशसभामा देखिएको छैन । निर्वाचन परिणामले यसअघिको पहिलो र दोस्रो स्थानमा रहेका दलहरुको हैसियत बदलिएको छ । कुनै दलको बहुमत नभएका कारण आगामी दिनमा राजनीतिक अस्थिरताले निरन्तरता पाउने सम्भावना बलियो बनेको छ । विगतमा काँग्रेस, एमाले, माओवादी र मधेसी दलहरुका कारण अस्थिर बनेको राजनीतिमा अन्य नयाँ दलहरु थपिएका छन् । निर्वाचन परिणामले तिनै दलहरुलाई शीर्ष स्थान दिएको भए पनि यस पटक नयाँ राजनीतिक दलहरुको समेत उपस्थितिले संसद र सरकार कस्तो बन्ला भन्ने चासो बढाएको छ ।

Exit mobile version