Home मुख्य समाचार विभिन्न घटनामा ३ जनाको मृत्यु, ७ जना घाइते

विभिन्न घटनामा ३ जनाको मृत्यु, ७ जना घाइते

गुगल तस्विर ।

हेटौंडाः बागमती प्रदेशमा शनिबार विभिन्न घटनामा ३ जनाको मृत्यु भएको छ । यस्तै, प्रदेशमा ७ जना घाइते भएको प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ । रामेछापको मन्थली ७ मा शनिबार एक जनाको शव फेला परेको छ । तामाकोशी नदि किनारमा ५५ वर्षीय मेख बहादुर माझीको शव फेला परेको हो ।

यस्तै, चितवनको कालिका ९ शक्तिखोरमा डुबेर १६ वर्षीय मनिष श्रेष्ठको मृत्यु भएको छ । पौडी खेल्ने क्रममा मनिषको मृत्यु भएको प्रहरीले जनाएको छ । त्यसैगरी, बनेपा–८ मा सवारी दुर्घटना भएको थियो । बनेपा बाट धुलीखेलतर्फ जाँदै गरेको बा ४ ख ५३२४ नम्बरको टिफरले पैदल यात्री पनौती नगरपालिका–७ बस्ने ५८ वर्षीय बिश्वनाथ उलखलाई ठक्कर दिएको थियो । टिफरको ठक्करबाट घाईते भएका विश्वनाथलाई उपचारको लागी सिरमेमोरीयल अस्पताल लगिएको थियो । घाइतेको अवस्था गम्भिर भएकोले तत्कालै काठमाडौं भ्याली न्युउरो अस्पताल सुनधारा रीफर गरिएकोमा राति १२ बजे डाक्टरले मृत घोषणा गरेको छ । टिफर र टिफर चालक प्रहरीको नियन्त्रणमा रहेको छ ।

यस्तै, चितवन कालिका २ मा सवारी दुर्घटना हुँदा ना ५६ प ५४९३ नम्बरको मोटरसाइकलले विपरीत दिशाबाट आउँदै गरेको साइकललाई ठक्कर दिँदा साईकल यात्री घाइते भएका छन् । दुर्घटनामा सोही स्थान बस्ने २० वर्षीय सोनम लामा घाईते भई नयाँ मेडीकल कलेज भरतपुरमा उपचार भई रहेको छ । सोनमको अनुहार, टाउको र खुट्टामा चोट लागेको र अवस्था मध्यम रहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । मोटरसाइकल चालक सोही स्थानका २१ वर्षीय सुदिप श्रेष्ठ फरार रहेको र खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

त्यसैगरी, भिमेश्वर नगरपालिका–१ मा जंगली भालुको आक्रमणले एक जना घाइते भएका छन् । भालुको आक्रमणबाट ८५ वर्षीयको सुनखुरे थामी घाइते भएका हुन् । घाइतेको अनुहार, टाउको, ढाड, बायाँं हात भाँचिएको छ । उनलाई उपचारको लागी चरिकोट अस्पताल ल्याईएको छ । दोलखाको गौरिशंकर–४ मा झै–झगडा भई कुटपिटबाट ५ जना घाइते भएका छन् । विवाहमा नाचगान गर्ने क्रममा झगडा हुँदा सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–५ बस्ने २२ वर्षीय दुर्जे शेर्पा, ४० वर्षीय पासाङ शेर्पा, २५ वर्षीय पेमा शेर्पा, ३३ वर्षीय राजन शेर्पा र १९ वर्षीयको पुरन शेर्पा घाइते भएका हुन् ।

Exit mobile version