Home मुख्य समाचार मल नपाएपछि थाहाका किसान आन्दोलनमा

मल नपाएपछि थाहाका किसान आन्दोलनमा

रासायनिक मल अभावको बिरुद्धमा आन्दोलन गर्दै थाहा नगरपालिकाका किसान ।

हेटौंडाः मकवानपुरको उत्तरी क्षेत्रमा रासायनिक मल नपाएपछि किसानहरु आन्दोलनमा उत्रेका छन् । आलु लगाउने समय नजिकिँदै गर्दा मलको अभावका कारण चिन्तित बनेका थाहा नगरपालिकाको किसान आन्दोलनमा उत्रिएका हुन् । मलको सहज आपूर्ति गर्न थाहा नगरपालिकाका किसान आन्दोलन संघर्ष समितिले आज बिहीबार नगरपालिकामा ध्यानाकर्षण पत्र बुझाएको छ ।

नेपाल कृषि प्रधान देश भएपनि विगत केही बर्षदेखि मलको अभाव हुने गरेको छ । आधुनिक कृषि प्रणाली र व्यवसायी रुपमा किसान आत्मनिर्भर हुनुपर्ने अवस्थामा उन्नत जातको बीउ, मल र बजार व्यवस्थापन जस्ता सामान्य कुरामा समेत राज्य संवेदनशील हुन नसक्दा मुलुक भरका किसान मर्कामा परेको ध्यानाकर्षण पत्रमा उल्लेख छ । राज्य किसानप्रति जवाफदेही नहुँदा सरकारबाट निश्चित मुल्य निर्धारण गरिएका युरिया, डिएपि जस्ता मलहरू तेब्बर मुल्य तिरेर खरिद गर्नुपर्ने बाध्यता रहेको उनीहरुले आरोप लगाएका छन् ।

ध्यानाकर्षण पत्रमा भनिएको छ, “मकवानपुरको उत्तरी क्षेत्रमा माघ महिनाको पहिलो हप्तादेखि आलु लगाउनुपर्ने सिजन प्रारम्भ हुन्छ । आलुको लागि प्रति किसान ६ बोरादेखि १५ बोरासम्म मल आवश्यक पर्छ । समानुपातिक मल वितरणको नियमले प्रतिकिसान १० किलो मल मात्रै प्राप्त हुन्छ । जुन आलु बालीको लागि प्रयाप्त होइन ।” मल आएपछि त्यसको बाडफाँड आवश्यकता र ओैचित्यको आधारमा गर्नुपर्ने उनीहरुको माग छ । किसानको समस्यालाई मध्यनजर गरी थाहा नगरपालिकाले आम किसानको हकहितको निमित्त काम गरोस् भन्दै थाहा नगरपालिकामा ज्ञापन पत्र बुझाएको हो ।

Exit mobile version