हेटौंडाः हेटौंडा–२ स्थित बालजागृति इंग्लिस सेकेण्डरी स्कूलले विद्यार्थी, अभिभावक र सञ्चारकर्मीबीच अन्तरक्रियाको आयोजना गरेको छ । विद्यार्थीलाई नियमित समाचारपत्र वितरण गर्नुका साथै विद्यार्थीकै सहभागितामा साप्ताहिक रेडियो कार्यक्रम उत्पादन तथा प्रसारण गर्दै आएको बालजागृतिले बुधबार विद्यालयमै अन्तरक्रियाको आयोजना गरेको हो ।
विद्यार्थीमा समसामयिक ज्ञानको अभिवृद्धिमा सहयोग पुग्ने अपेक्षासहित विद्यालयले ७ कक्षाका विद्यार्थीलाई समृद्ध समाज दैनिक समाचारपत्र नियमित उपलब्ध गराउँदै आएको छ भने रेडियो मकवानपुरसँगको सहकार्यमा रेडियो कार्यक्रम उत्पादन तथा प्रसारण गर्दै आएको छ । नियमित पत्रिका उपलब्ध गराउने र रेडियो कार्यक्रम उत्पादन तथा प्रसारणमा सहभागी विद्यार्थीका अभिभावकबाट आफ्ना बालबालिकामा सकारात्मक परिवर्तन देखिएको, विद्यार्थीमा उत्सुकता, पठन संस्कृतिको विकास भएको प्रतिक्रया प्राप्त भएको प्रिन्सीपल विनोद सुवेदीले जानकारी दिनुभयो । विद्यार्थीको सर्वाङ्गिण विकासमा विद्यालयले सक्दो प्रयास गर्ने उल्लेख गर्नुहुँदै विद्यार्थीको सीप, दक्षता र ज्ञानको दायरा बढाउने प्रयास भएको प्रिन्सीपल सुवेदीको भनाइ थियो । समाचारप्रति विद्यार्थीको बढ्दो चासोले विद्यार्थीलाई नयाँ ज्ञान आर्जन गर्न प्रेरित गरिरहेको उहाँले दावी गर्नुभयो ।
विद्यार्थीसँगको अन्तरक्रियामा समृद्ध समाज दैनिकका सम्पादक सुरेश श्रेष्ठले विद्यार्थीलाई औपचारिक शिक्षासँगै वर्तमान समाजको वास्तविकता बुझाउन पनि समाचारपत्र र रेडियो कार्यक्रम उपयोगी हुने बताउनुभयो । विद्यार्थीको जिज्ञासालाई सम्बोधन गर्ने क्रममा समाचारपत्र वितरणको अभियानले विद्यार्थीमा मात्रै नभएर घर, परिवारमा अध्ययन संस्कृतिको विकास हुने अपेक्षा गरिएको पनि सम्पादक श्रेष्ठले स्पष्ट पार्नुभयो । उहाँले कक्षा ७ देखिनै विद्यार्थीले समाचारपत्र पढ्ने बानी गर्दै गर्दा औपचारिक शिक्षाका पाठ्यपुस्तकको अध्ययनमा पनि सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
रेडियो मकवानपुरका स्टेशन म्यानेजर आशिष दूलालले रेडियो कार्यक्रम उत्पादनमा विद्यार्थी भाइबहिनीहरुको सक्रियता र सहभागिता सराहनीय रहेको उल्लेख गर्नुभयो । रेडियोमा समाचार र विचार सुन्ने बानीले विद्यार्थीमा नयाँ ज्ञान आर्जन हुनुका साथै रेडियो कार्यक्रम उत्पादनका क्रममा विद्यार्थीको व्यक्तित्व र नेतृत्व विकासमा सहयोग पुग्ने दूलालको भनाइ थियो ।
अन्तरक्रियामा सहभागी विद्यार्थीले सञ्चार माध्यमको प्रयोग र प्रभावकारिताको विषयमा जिज्ञासा राखेका थिए । समाचार संकलन, लेखन, पत्रकारको सूचनाको पहूँचलगायतका विषयमा पनि विद्यार्थीले चासो व्यक्त गरेका थिए । अभिभावक विक्रमकुमार सञ्जेलले विद्यालयले विद्यार्थीको समग्र विकासका लागि गर्दै आएको क्रियाकलापको प्रशंसा गर्नुभएको छ । यस्तै अर्का अभिभावक प्रमिला केसीले विद्यार्थीलाई समाचारपत्र उपलब्ध गराउने अवधारणा सराहनीय भएको बताउनुभयो । समाचारपत्र पढ्ने बानीले विद्यार्थीलाई समाजका विषयमा जानकारी हुनुका साथै नयाँ कुरा सिक्ने अवसर हुने उहाँको भनाइ थियो ।
कार्यक्रममा अभिभावकहरु सरस्वती तिमल्सिना र विष्णुप्रसाद सन्जेलको पनि सहभागिता रहेको थियो । अन्तरक्रियामा विद्यार्थीहरु देविना सन्जेल, आश्रिका न्यौपाने, प्रज्वलिका चापागाईं, एलिसन राउत, सुयोग हमाल, बिजनेश सन्जेलले समाचारपत्र, रेडियो कार्यक्रमका विषयमा जिज्ञासा राखेका थिए । ७ कक्षाकी छात्रा रोजिना चौलागाईंको अध्यक्षता तथा विद्यालयका प्रिन्सीपल विनोद सुवेदीको प्रमुख आतिथ्यमा अन्तरक्रिया भएको हो ।