सुशीलराज गिरी

न म कसैलाई सुनाउन सक्ने स्थितिमा छु, न सबै कुरा लिपिबद्ध गर्न नै सक्छु, त्यो अकल्पनीय घटना । त्यो तितो यथार्थ । ओहो १ कस्तो कहाली लाग्दो । मैले कहिल्यै कल्पना नगरेको । कहिल्यै नसोचेको । ओहो १ कसरी घट्यो त्यो घटना चकित छु आफैँ । जतिसक्दो चाँडो बिर्सन चाहन्छु म त्यो घटना । सकिरहेको छैन बिर्सन । दिमागमा नाचिरहेको छ जुनबेला पनि ।

मैले इमान बेच्नु हुँदैनथ्यो १२/१५ लाखका लागि । म स्वाभिमानी मान्छे । इमान प्रतिष्ठामा आँच आउन म दिन्न कहिल्यै तर त्यो घटना (धम्मरधुस काले, ड्रग, पैसा ! ओ हो हो ! दक्षिण अफ्रिकामा २ हजार र्याण्डको जागिर खाएर म माथि लाग्न सक्दिनथेँ कहिल्यै । विकल्पको अभावमा मैले त्यो सब काम गरेँ जसको खिलाफमा म स्वयम् उभिने गर्दथिएँ, उभिने गर्छु ।

विकल्पको खोजीमा बसिरहेको सोझोसाझो म दश हजार र्याण्डको कुरो सुनेपछि एकपटक झस्किएँ । टाउको उठाएर अघि हेरेँ कालो न कालो लम्बु मान्छे मेरो अगाडि । उसको अनुहार देख्न गाह्रो पर्यो । मैले टाउको अझ उठाएँ । देखिराखेकै काले रहेछ । नाम थाहा थिएन । हेलो हाई भो । मैले उसले भनेको कुरा बुझेको थिइनँ । मैले जिज्ञासा प्रकट गरेँ । उसले एकान्तमा जान आग्रह गर्यो । अलिक डराएँ । हदै भए मरिन्छ, जब यस्तो सोँच आउँछ अनि भाग्दो रहेछ सबै डर त्रास ।

एकान्तमा लिएर गयो उसले मलाई । उसले खरिद्न खोजेको रहेछ मलाई । सौदा । मैले काम सोधेँ । उसले बताउन चाहेन । दश हजार र्याण्ड । पैसाको लोभ तेस्र्यायो । यथार्थमा म पैसा चाहन्थेँ । गुमाउन चाहँदैन थिएँ । र पनि आफूलाई निकै सम्हाल्दै होशियारीपूर्वक बोलिरहेको थिएँ म । मैले पुनः सोधेँ काम के हो मैले गर्नुपर्ने ? उसले भन्यो, “सामान छ एक व्याग त्यो लगेर फलानो ठाउँमा फलानालाई दिनु पर्ने ।” “काम सजिलो छ । त्यतिको लागि दश हजार र्याण्ड नट अ जोक”, उसले थप्यो ।

मैले सोधेँ व्यागमा के छ ? के हो त्यस्तो सामान ? यदि सामान्य हुुँदो हो त यत्रो पैसा दिएर मान्छे लगाउनु जरुरी पनि नहुँदो हो । मलाई केही शंका लागिसकेको थियो तर म त्यसैको मुखबाट सुन्न चाहन्थेँ । यथार्थ नबुझेसम्म म काम नगर्ने भएपछि ऊ भन्न बाध्य भयो । ड्रग्स । ड्रग्स ? आत्तिएँ म । दिमागमा नानाथरी कुराहरु घुम्न थाले । ड्रग्स, म, पुलिस, जेल, सजाय, मेरो परिवार, मेरा आफन्त, मेरा साथीहरु । अहँ मबाट यो काम हुुँदैन, दृढताका साथ इन्कार गरिदिएँ । काम तिमीले सोचेको जस्तो मुस्किल छैन । हामी पुलिसको नजरमा छौं त्यसैले मात्र हो नयाँ अनुहार खोजेको कालेको मनाउने प्रयत्न मलाई । उसले थप्यो लेट्स डु इट, आइ विल मेक इट ट्वान्टी थाउजेन्ट । मेरो दिमाग रन्थन्निइरहेको थियो, सोँच्न केही सकिरहेको थिइनँ ।

दक्षिण अफ्रिका, जव, स्यालरी, नेपाल, ऋण, परिवार, आफ्नो भविष्य ओहो द्वन्द्व गर्दै थिए दिमागमा । पैसा नाचिरहेको थियो । विकल्पहीन अवस्थामा पैसा सबैभन्दा माथि आएर बसिरहेको लाग्दैथियो । एक्कासी मुखबाट निस्कियो एक लाख र्याण्ड । एक लाख र्याण्ड दिने भए काम गरिदिन्छु । झस्कने पालो थियो कालेको । झस्कँदै केहि पछि हट्यो । सातो गए झैं । उसलाई पनि काम गरिदिने मान्छे चाहिएको थियो । मलाई नै किन रोज्यो त्यो उसलाई नै थाहा होला । सायद म साइवर आइरहँदा ख्याल गरिरहेको हुनुपर्छ । फक म्यान । वन ल्याख ? दिस इज टू मच ।

अनेक उपाय लगाउँदै थियो मनाउन । मैले साफसाफ भनिदिएँ मिलियन्सको काम गर्दा जाबो यति पनि नपाउने त्यसमाथि यति रिस्कि । अडिग थिएँ आफ्नो कुरामा । इफ इट्स ओके कल मि भन्दै म हिँडे । के–के सोच्यो कुन्नि अलिक रातो पिरो अनुहार पार्दै बोलायो र भन्यो “डन” । सामान लिन भोलि फलानो ठाउँमा उसको निम्तो । त्यसपछि छुट्टियौं हामी त्यहाँबाट । रातभर निदाउन सकिन म । योजना बुन्दै थिएँ । मलाई पैसो भन्दा ज्यानको माया जो छ । म केवल म नभएर मेरो परिवारसँग गाँसिएको म । मैले सबै कुरा सोचेर सम्झेर गर्नुपर्ने । काम, पैसो, म, प्लेन टिकट, नेपाल, परिवार । अनेक योजना बनाउँदै भत्काउँदै गरेँ स्वयम् दिमागमा । अन्तिम योजना लिएर सुतेँ ।

भेट्न जानु थियो कालेलाई । गएँ बोलाएको ठाउँमा । त्यहाँ रहेनछ त्यो । मोवाइलमा घण्टी बज्यो । अनुमान लगाएँ पक्कै त्यसैको हुनु पर्छ । हो रहेछ । उसले अर्को ठाउँमा बोलायो । पुलिसले जासुसी गरिरहेको हुनसक्छ म समेत नजरमा त परिसकिन ? डर मिश्रित सतर्कता । कालेसगँ भेट भयो । सामान दियो अनि पुर्याउनु पर्ने ठाउँको फेहरिस्त । जोहानेसवर्ग सिटी पुग्नु पर्ने रहेछ । मैले मेरो कामको पैसा मागेँ । काम सम्पन्न भएपछि मात्र उसले भन्यो । पैसाको मामिलामा मान्छे कस्ता हुन्छन् बुझिसकेको म, त्यसमाथि काले । त्यत्रो पैसा विश्वास गर्ने त कुरै भएन । मैले पैसा तु चाहिन्छ भनेँ । पहिले पैसा अनि काम मेरो सर्त । उसलाई व्याङ्क अकाउन्ट डिटेल दिएँ नेपालको । पैसो मेरो खातामा पुगेपछि मात्र काम हुने कुरा दाहोर्याएँ । म फर्किएँ । मेरो खातामा पैसा जम्मा भएको कन्फर्म भो । पैसो आइपुग्यो गर्नैपर्ने प्रेसर झन् बेसी भो । अब त झन् काम नगर्नु भनेको ज्यान गुमाउनु नै थियो । ५/१० र्याण्डलाई मान्छे मारेका घटना दिनहुुँ जस्तो आउँछन् समाचारमा । म योजना बनाउँदै थिएँ तद्अनुरुप काम पनि । सँगै बसेका साथीभाई कसैलाई पत्तो दिएको थिइनँ । काम तमाम गर्नासाथ सोही दिन नेपाल फर्किने योजनामा म थिएँ ।

एकदिन म हिडेँ ड्रगको झोला भिरेर पुर्याउनु पर्ने ठाउँमा । बाटोमा पुलिसको चेकिङ । एकपटक झस्किएँ । ढुक्क थिएँ त्यस दिन झोलामा ड्रग्स होइन कापि किताब जो बोकेको थिएँ । ह्वाट इज इनसाइड यौर व्याग ? कड्केर सोध्यो एक पुलिसले । मानौं उसले सुइँको पाइसकेको थियो । म अलिक आत्तिएको आवाजमा किन र सर, केहि छैन त । उनिहरुले खानतलास गरे । कापि, किताब, कलम बस अरु केहि थिएन । पासपोर्ट मागे । दिएँ । विद्यार्थी भिसा, बोष्टन कलेज । कहाँ जान लागेको अलिक नरम हुँदै सोधे यसपटक । अफकोर्स कलेज मेरो जवाफ । अड्चनका लागि माफी माग्दै मलाई जान भनियो । हैट एकछिन त लाग्यो यदि ड्रग्सनै बोकेर आएको हुुँदो हुँ त ?

म त्यो दिन पहिले कलेज गएँ । पढेँ । फर्किए । अनि मेसो मिलाएर, ठाउँ हेरिवरि मान्छे चिनेर फर्किएँ । लगेज तयार थियो । २ बजेको फ्लाइट थियो नेपालका लागि । कलेजको नाम प्रिन्ट गरेको झोलामा सामान राखेँ जस्को मैले डेलिभरि दिनु थियो । बाटोमा ति नै पुलिस भेट भो । धक्क छाति फुलेर आयो । चिने सायद । फेरि म कलेजको व्याग भिरेको थिएँ कलेजकै टिसर्ट पहिरन । मलाई हेरेर मुसुक्क हाँसे मात्र उनीहरु । एउटाले हाउ इज इट माइ फेन्द भन्यो । मैले सार्प भने । उनीहरुले सार्प सार्प भने ।

सामान सम्बन्धित मान्छेलाई बुझाएर म हतारिँदै हिडेँ । फ्लाइट जो भेट्नु थियो । पल्लो घरमा बस्ने कालेलाई उसको कारमा एयरपोर्ट ड्रप गर्न अनुरोध गरेँ । हामी उसलाई पापा भनेर सम्बोधन गथ्र्यौं । घरमा मेरा साथीभाइ जो सँगै बस्थे उनीहरुलाई त्यही दिन मात्र जानकारी दिएको थिएँ म फर्कदै छु भनेर । सबै दंग पर्दै थिए । के भो के त्यस्तो आपत्कालीन आइलाग्यो सबैको जिज्ञासा । घर जानुपर्ने भो आत्तिनु पर्ने केही होइन भनेर म लागेँ । एयरपोर्टमा चारैतिर पुलिस देख्दा डर थियो । जो पनि आफूलाई नै हेरेको भान हुने । प्लेन भित्र छिरेपछि भने राहतको श्वास फेरेँ । मन पुरै हलका त्यतिबेला भयो जतिबेला म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नेपालमा पाइला टेकेँ । शरीर फुर्तिलो भो । हर्षित थिएँ । ओहो कस्तो उमंग मनमा । चाल–ढाल नै बेग्लै जस्तो आफैलाई भान भो ।

थोत्रो थोत्रो स्विटर, भुवावाला टोपी, खुट्टामा मोजा अनि चप्पल । अनौठो लाग्ने टाइपको भेषमा बसिरहेका एक वृद्धले इमिग्रेसनमा पासपोर्ट पल्टाउदै सोधे निकै छिटो फर्कनु भएछ त । कानमा चर्को आवाज गुञ्जियो हाउ मच फर दिस वन ? म झसङ्ग भएँ । तोइट चिर निन्द्राबाट व्युझिए जस्तो । जुरुक्क उठेँ । यताउता हेरेँ । जुत्ता चप्पल, यस्मिन (पसल साहू), क्लेटन (म जस्तै अर्को कामदार) अनि ग्राहक । क्लेटन बिजि थियो ग्राहकसँग । एक ह्वाइट लेडी मलाई जुत्ता देखाउँदै हाउ मच भन्दै थि । म त एकछिन रुमल्लिएँ । आफै तीन छक । सिटमा बस्दाबस्दै सपना ? मनमनै गाली गरे आफैलाई । धत् सपना थियो कि कल्पना । म हेरेको हेर्यै । ती गोरी ग्राहक बोल्दै थिइन “क्यान आइ ह्याब साइज सिक्स ?” म अड्किदै भनेँ, “लेट मि चेक ।” म अझै यथार्थतामा फर्कन सकिरहेको थिइनँ ।

खुशी पनि लाग्यो गतिलो काम थिएन जुन मैले गरेँ त्यो यथार्थ होइन रहेछ । अनि दुःख पनि लाग्यो हातबाट १२/१५ लाख जो गुम्यो । फेरि उहि दिनचर्या जुत्ता, चप्पल । बेलुकी घर फर्किएँ । दिनचर्या केहि परिवर्तन छैन उही हो । काम, घर, खाना, विस्तरा । उठ्यो नुहायो, नास्ता बनायो, खायो, अनि काम ।
जीवन जसरी चाहेको जस्तो बिताउन सकिरहेको छैन । प्रयत्न जारी छ । पैसो कमाउनतिर लाग्दिन त्यसरी जसरी सपनामा कमाएको थिएँ एकैपटक । सपना देख्नु राम्रो हो तर प्राप्तिका लागि आफै लाग्नुपर्छ निरन्तर । कोशिस छाड्नु हुँदैन । हार मान्नु हुँदैन साना–तिना असफलताबाट, पुग्छ पक्कै आँटेको सायद । प्राप्त हुन्छ चाहेको ।

(१९ जनवरी २००७, दक्षिण अफ्रिका, दक्षिण अफ्रिका डायरीबाट)