हेटौंडाः मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनमा मदिराजन्य पदार्थ तथा सवारी संचालन गर्न नपाईने भएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले आज सूचना सार्वजनिक गर्दै निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण एवम् भयरहित वातावरणमा सम्पन्न गर्न मदिराजन्य पदार्थ पूर्ण रुपमा बन्द गरेको उल्लेख गरेको छ ।
कार्यालयले भोली बिहीबार राती १२ बजेदेखि मंसिर ५ गते दिउँसो १२ बजेसम्म जिल्लाभर मदिराजन्य पदार्थको प्रयोगमा बन्देज गर्ने उल्लेख गरेको छ । यस्तै, मत गणना हुने मतगणनास्थल सिद्धार्थ माविको ५ सय मिटर आसपासको क्षेत्रमा मतगणनाको कार्य सम्पन्न नहुँदासम्मको लागि मदिराजन्य पदार्थको ओसारपसार, विक्रि वितरण तथा सेवन पूर्ण रुपमा बन्द गर्ने भएको छ ।
यस्तै, निर्वाचनको दिन अनुमति प्राप्त सवारी साधन मात्र संचालन गर्न पाईने भएको छ । मंसिर ४ गते बिहान ५ बजदेखि मंसिर ५ गते बिहान ५ बजेसम्म सम्पूर्ण निजी तथा सार्वजनिक यातायातका सवारीसाधन संचालन गर्न नपाउने जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ । निर्वाचन आचारसंहिता विपरितका कार्य एवम् निर्वाचन विरोधी कुनै किसिमका गतिविधि भएको पाइएमा कानून बमोजिम कारबाही गरिने सूचनामा उल्लेख छ ।