Home मुख्य समाचार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारलाई काङ्ग्रेसले गर्यो कारबाही

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारलाई काङ्ग्रेसले गर्यो कारबाही

पत्रकार सम्मेलनमा कारवाही गरिएको विषयमा जानकारी गराउनुहुँदै नेपाली कांग्रेस मकवानपुरका सभापति बुद्ध लामा (बीचमा) ।

हेटौंडाः आसन्न प्रदेश सभा तथा प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेदवार बनेका राष्ट्रिय स्वतन्त्र पार्टी, स्वतन्त्र राजनैतिक शक्ति पार्टीका उम्मेदवारसहित १६ जनालाई नेपाली काङ्ग्रेसले कारबाही गरेको छ । काङ्ग्रेस मकवानपुरको जिल्ला अनुशासन समितिले मंगलबार पार्टी कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरी कारबाही गरिएको जनाएको हो ।

कारबाहीमा पर्नेमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधि सभातर्फ मकवानपुर क्षेत्र २ का उम्मेदवार भरत पराजुलीलाई कारवाही गरिएको जनाएको छ । पराजुली नेपाली काङ्ग्रेसको पूर्व महासचिव सदस्य हुनुहुन्थ्यो । यस्तै स्वतन्त्र राजनैतिक शक्ति पार्टीबाट प्रतिनिधि सभा सदस्यतर्फ मकवानपुर क्षेत्र नम्बर २ का अर्का उम्मेदवार धिरज विक्रम न्यौपानेलाई पनि कारवाही गरिएको काङ्ग्रेस मकवानपुरका सभापति बुद्ध लामाले जानकारी दिनुभयो । न्यौपाने काङ्ग्रेसको क्रियाशील सदस्य रहेको बताइएको छ ।

अनुशासन समितिले पार्टी जिल्ला सभापतिलाई हस्तान्तरण गरेको कारवाहीको विवरण ।

कारबाहीमा पर्नेमा पार्टीका पूर्व महासमिति सदस्य तथा आसन्न निर्वाचनमा बिपीका तर्फबाट उम्मेदवार रिता खनाल, क्रियाशील सदस्य रमेश ढकाल, पूर्व प्रदेश सभा क्षेत्रीय सभापति सुजन गोपाली, पूर्व इकाई सभापति भीम घिमिरे, क्षेत्रीय प्रतिनिधि कर्ण बहादुर थिङ, नेपाल तरण दल जिल्ला उपाध्यक्ष निराजन बर्तौला, प्रदेश क्षेत्रीय सचिव नवराज पौडेल, नेपाल तरुण दल जिल्ला सदस्य किशोर राना, भीमफेदी गाउँपालिका उपसभापति रुद्र लामा, तरुण दल जिल्ला सदस्य सिरित राई, नगर समिति सदस्य सूर्य थोकर, पूर्व जिल्ला सदस्य गोपी अधिकारी, तरुण दल ईकाइ वडा अध्यक्ष बुद्ध लामा र बुथ प्रतिनिधि मिरा सापकोटा रहेका छन् ।

काङ्ग्रेस मकवानपुरका सभापति बुद्ध लामाले आसन्न निर्वाचनमा पार्टीको नीति, सिद्धान्त र निष्ठा विपरित काम गरी अन्य दल वा चुनाव चिन्हबाट निर्वाचनमा उम्मेदवारी दिई पार्टीलाई क्षति पुर्याउनेहरुलाई कारबाही गरिएको बताउनुभयो । कारबाहीमा पर्नेहरुको पार्टीकोे साधारण सदस्य पद समेत नरहने जनाइएको छ ।

Exit mobile version