कार्यक्रममा सम्बोधन गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रिय सभापति लामिछाने ।

हेटौंडाः चुनावी प्रचारप्रसारको कार्यक्रम अन्तर्गत हेटौंडा आउनुभएको राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सभापति रवि लामिछानेले आगामी मंसिर ४ गते हुने निर्वाचनमा पार्टी होइन मत फेर्न सबैलाई आग्रह गर्नुभएको छ । ठूला राजनीतिक दलको झुटा आश्वासन धेरै हेरिएको भन्दै उहाँले अब मत फेर्ने समय आएको स्पष्ट पार्नुभयो ।

राष्ट्रिय स्वतन्त्र पार्टी मकवानपुरको आयोजनामा आज मंगलबार हेटौंडामा भएको सभामा सम्बोधन गर्दै उहाँले भन्नुभयो, “वर्षौदेखि लागेको पार्टी छोड्नुस भन्दिन । यसपटक निर्वाचनमा पार्टी होइन मत फेरेर हेर्नुस् ।” उहाँले देशमा भएको भ्रष्टाचार अन्त्य गर्न आवश्यक रहेकोले पनि आफु राजनीतिमा आएको धारणा राख्नुभयो । वैदेशिक रोजगारीमा गएका यूवाहरुलाई नेपाल फर्क अभियान नै संचालन गरेर काम गरी खाने वातावरण सिर्जना गर्ने योजनासहित राष्ट्रिय स्वतन्त्र पार्टी अगाडी बढेको उहाँले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “काम गर्न चुनाव जित्नै पर्दैन । समस्या पर्दा सबैलाई सहयोग गर्न तयार छु । समाजमा चेलिबेटीहरुमा भएको विभेद अन्त्य गर्न र अत्याचार गर्न सधै आवाज उठाईरहेको छु ।” उहाँले आगामी निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले सबैभन्दा बढी महिला उम्मेदवार उठाएको जानकारी गराउनुभयो । आफुले हात हालेको काम अधुरो छोडेको छैन भन्दै उहाँले देशमा भएका समस्याहरु स्थायी रुपमा समाधान गर्न तयार रहेको स्पष्ट पार्नुभयो ।