साङ्केतिक तस्बिर गुगल

हेटौंडाः मकवानपुरको थाहा नगरपालिका–१२, झाप्रेमा कुटपिट हुँदा एकजना घाइते भएका छन् । शुक्रबार राति १० बजेको समयमा झाप्रेका ३२ वर्षीय सोम गोलेको कुटपिटबाट सोही ठाउँका ४७ वर्षीय जित बहादुर स्याङ्तान घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता टेक बहादुर कार्कीले जानकारी दिनुभयो ।

झै–झगडा गरी गोलेको कुटपिटबाट स्याङ्तान घाइते भएको भन्ने खबर शनिबार बिहान इलाका प्रहरी कार्यालय पालुङमा प्राप्त हुन साथ प्रहरी सहायक निरीक्षकको कमाण्डमा टोली खटिएको थियो । गोलेको कुटपिटबाट स्याङ्तानको टाउको र आँखामा चोट लागेको जनाएको छ । स्याङ्तनको अहिले ट्रमा सेन्टर काठमाडौंमा उपचार भइरहेको र स्वास्थ्य अवस्था मध्यम रहेको जनाएको छ । कुटपिट गरी गोले अहिले फरार रहेको र खोजतलास कार्य भइरहेको प्रवक्ता कार्कीले बताउनुभयो ।