नेपाल प्राकृतिक प्रकोपका हिसाबले जोखिमपूर्ण देश हो । यहाँ धेरै प्रकारका प्राकृतिक प्रकोपको जोखिम छ । भूकम्प, बाढी–पहिरो, चट्याङ, हिमपात, हावाहुरीजस्ता थुप्रै प्राकृतिक प्रकोपले वर्षेनि धनजनको क्षति भइरहेको छ । विशेषगरी मुलुकमा मनसुनजन्य कारणले उत्पन्न हुने बाढी, पहिरोको प्रकोपले वर्षेनि जनजीवन प्रभावित बनाउने गरेको छ । मनसुन सक्रिय भएर वर्षायाम सुरु भएपछि देशभर बाढी पहिरोले ठूलो क्षति पुर्याउँछ । नदीमा आउने बाढी र त्यसबाट हुने डुबानले तराईका जनता प्रताडित छन् भने पहिरो तथा खोला नदीको कटानका कारण पहाडका जनता त्रासमा बाँचिरहेका छन् । यसवर्षको पछिल्लो एक हप्ताको अवधिमा मात्रै देशका विभिन्न भागमा परेको अविरल वर्षाका कारण आएको बाढी, पहिरोमा परेर सयौं मानिसको मृत्यु भएको छ भने दर्जनौं बेपत्ता भएका छन् ।
प्राकृतिक प्रकोपको प्रभाव विश्वव्यापी छ । विश्वमा हिमपात, चक्रवात, आँधीबेहरी, बाढी, पहिरो, भूकम्प, ज्वामुखी विस्फोट, असिना, उल्कापिण्ड, वन डँढेलो, सुख्खा (खडेरी), सुनामी, लू, शीतलहर, महामारी आदि विभिन्न प्रकारका प्राकृतिक प्रकोपका घटना हुने गरेका छन् । यस्ता प्राकृतिक प्रकोपसँग हामी जुध्न सक्दैनौं, प्रकोपप्रति सचेत भई पूर्वतयारी तथा सतर्कता अपनाएर हुनसक्ने जोखिम न्यूनीकरणमात्र गर्न सक्दछौँ । प्राकृतिक प्रकोपप्रति हामी मानिस नै सचेत र सतर्क हुनुपर्छ । यही भएर हरेक वर्ष विश्वभर अक्टोबर महिनाको १३ तारिखमा प्राकृतिक प्रकोप नियन्त्रण दिवस मनाउने गरिएको छ । यस वर्षको विश्व प्राकृतिक प्रकोप नियन्त्रण दिवस असोज २७ गते बिहीबार मनाइएको छ । प्राकृतिक प्रकोप नियन्त्रण दिवस मनाउने क्रममा विभिन्न कार्यक्रम, सभा–सम्मेलन, गोष्ठीको आयोजना गरी सचेतना फैलाउने र यसबाट हुने हानि न्यूनीकरणको प्रयत्न गरिन्छ । सन् १९८९ को राष्ट्र संघको महासभाले प्राकृतिक विपत्तिविरुद्ध पूर्वतयारी र सचेतना अभिवृद्धिका लागि यस दिवसको सुरुवात गरिएको हो ।
नेपाल पहाडी भूभाग बढी भएको मुलुक भएकाले बाढी, पहिरोको उच्च जोखिम क्षेत्रमा पर्दछ । मौसमी क्षेत्रमा मनसुन सक्रिय हुँदा भारी वर्षा हुने र धेरै खोला, नदीहरु भएका कारण यहाँ बाढी, पहिरोको जोखिम बढी हुने गरेको हो । भौगोलिक अवस्थाको प्राविधिक जाँचबिना जथाभावी सडक निर्माण, खनिज उत्खनन तथा अन्य विकास निर्माणका काम गर्दा जमिन कमजोर भएर बाढी पहिरोको जोखिम बढ्दै गएको छ । मनसुनी वर्षाका कारण बाढी आउने, पहिरो जाने, बस्ती कटान तथा डुबानमा पर्ने, घरबारी बगाउने, सडक अवरुद्ध हुने, खानेपानी वितरण प्रणालीमा क्षति पुग्ने, भौतिक संरचनामा क्षति पुग्नेजस्ता समस्याहरु हरेक वर्ष भोग्नुपरिरहेको छ । यस्ता घटना वर्षाको समयमा हुन्छ भनेर बेवास्ता गर्न सकिँदैन । सानो सतर्कताले हाम्रो ज्यान बच्ने र समाजलाई पनि बचाउने अभियानमा लाग्न जरुरी छ ।
आम मानिसलाई प्राकृतिक प्रकोपका बारेमा सचेत बनाउनु पर्छ । प्राकृतिक प्रकोपको जोखिम बढी भएका स्थानमा सतर्कता अपनाउन र जोखिम न्यूनीकरणका उपायमात्र गर्न सक्यो भने पनि यसबाट हुने क्षति कम गर्न सकिन्छ । मनसुन लम्बिएका कारण दशैंपछिका दिनहरुमा पहिरो तथा बाढीले धेरैतिर क्षति पुर्याएको समाचार आइरहेको छ । बाढी, पहिरो, डुबान तथा कटानको समस्याबाट धेरै नेपाली पीडित बन्नु दुःखदायी छ । देशमा तीन तहको सरकार हुँदा पनि बाढी, पहिरोलगायत प्राकृतिक प्रकोप र त्यसबाट हुने क्षति बढ्दै जानु शोभनीय मान्न सकिँदैन । वर्षेनि हुने बाढी, पहिरोजस्ता मनसुनजन्य र अन्य प्राकृतिक प्रकोपको पूर्वानुमान संयन्त्र भरपर्दो र व्यवस्थित बन्दै गएको अवस्थामा प्रकोपको रोकथाम, न्यूनीकरण, व्यवस्थापनलगायत कार्यमा तीनै तहको सरकारले पर्याप्त ध्यान दिनु आवश्यक छ ।











