हेटौंडाः आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको चुनावी तालिका अनुसार सोमबार उम्मेदवारविरुद्ध उजुरी दिन सकिने भए पनि मकवानपुरमा उजुरी परेको छैन । निर्वाचन आयोगले सोमबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मनोनयन दर्ता भएका कुनै पनि उम्मेदवारविरुद्ध सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिन सकिने व्यवस्था गरेको थियो ।
मकवानपुरमा आगामी निर्वाचनका लागि प्रतिनिधिसभातर्फ निर्वाचन क्षेत्र नम्बर १ मा १६ जना र क्षेत्र नम्बर २ मा १० जनाले उम्मेदवारी दर्ता गराएका छन् । यस्तै प्रदेश सभातर्फ मकवानपुर क्षेत्र नम्बर १ को (क) मा १० जना र (ख) मा १५ जनाले उम्मेदवारी दर्ता गराएका छन् । मकवानपुर क्षेत्र नम्बर २ को (क) मा ८ जना र (ख) मा १० जनाले उम्मेदवार दर्ता गराएका छन् ।
आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालय मकवानपुरमा उपस्थित भएर उम्मेदवारहरुले आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् । आयोगले उम्मेदवारलाई नाम फिर्ता लिनको लागि बुधबार २६ गते तोकेको छ । यस्तै २६ गते नै उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र चुनाव चिह्न दिने आयोगले जनाएको छ ।
