हेटौंडाः मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको चुनावी तालिका अनुसार आज सोमबार उम्मेदवारविरुद्ध उजुरी दिन सकिने व्यवस्था मिलाइएको छ । आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मनोनयन दर्ता भएका कुनै पनि उम्मेदवारविरुद्ध सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिन सकिने निर्वाचन आयोगले जनाएको छ ।
आयोगका अनुसार आज र भोलि मनोनयनपत्र र उजुरीमाथि जाँचबुझ गरेर निर्णय हुनेछ । उम्मेदवारलाई नाम फिर्ताको लागि पर्सि बुधबार २६ गते तोकिएको छ । यस्तै २६ गते नै उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र चुनाव चिह्न दिने आयोगले जनाएको छ । मकवानपुरमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि ६९ जनाले प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता गराएका छन् । आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालय मकवानपुरमा उपस्थित भएर क्षेत्र नम्बर १ मा ४१ जनाले र क्षेत्र नम्बर २ मा २८ जनाले उम्मेदवारी दर्ता गराएका हुन् ।
