हेटौंडाः उस्तै मुद्दामा फरक आदेश जारी गर्ने न्यायालय देखेर निराशा छाएको अधिकारकर्मीले बताएका छन् । अनौपाचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को बागमती प्रदेश कार्यालयले हेटौंडामा बिहीबार आयोजना गरेको मानव अधिकार रक्षकको संरक्षण र सम्बद्र्धनका सरोकार विषयक अन्तरक्रियामा सहभागी माइती नेपाल मकवानपुरकी कार्यक्रम संयोजक माया लामाले दुई वटा उस्तै मुद्दामा फरक–फरक आदेश जारी गर्ने न्यायालयको अनुगमन कसले गर्ने भन्दै प्रश्न समेत गर्नुभयो ।
राजनीतिक, प्रशासनिक पहुँच हुने, आर्थिकरुपमा सक्षम पीडक र पहुँच नभएका पीडकको मुद्दामा फरक आदेश जारी गरेको देख्दा, पीडकले सफाई पाएको, पीडितले न्याय नपाएको देख्दा निराश हुनु पर्ने अवस्था आएको लामाको भनाइ थियो । लैंगिक हिंसा, यौन हिंसा, घरेलु हिंसामा परेका पीडितहरुको गम्भीर अवस्था देखेर व्यक्तिगत, पारिवारिक जोखिम मोलेर न्यायको खोजी गर्दै अदालत पुग्दा पनि न्याय नपाउने अवस्था देखेर निराश भएर फर्कनुपर्दा असाध्यै दुःख लाग्ने गरेको लामाले बताउनुभयो ।
गैरसरकारी संस्था महासंघ (गैसस) बागमती प्रदेश समितिकी अध्यक्ष आरती पाठकले पीडकहरुको पक्षमा देखिने रवाफ र पीडितहरुमाथि हुने अन्यायले अधिकारकर्मी नै त्रासमा बाँच्न बाध्य भएको पाठकले जीकिर गर्नुभयो । ठूला अपराधिले कारागारमा समेत नाइकेको जिम्मेवारी पाउने परिपाटी आश्चर्यजनक भएको पनि पाठकले उल्लेख गर्नुभयो । पाठकले भन्नुभयो, ‘जघन्य अपराध गरेका, ठूला अपराध गरेका, पटक–पटक अपराध गरेकाहरु कारागारमा पुगेपछि पनि नाइके हुन पाउने प्रचलन कस्तो हो ?’
पत्रकार प्रताप विष्टले सबैतिर वेथिति रहेको उल्लेख गर्नुहुँदै सत्तामा रहँदा मानव अधिकारको संरक्षण र पालना नगर्ने, प्रतिपक्षमा हुँदा मानव अधिकारको वकालत गर्ने प्रवृत्ति रहेको बताउनुभयो । उहाँले अधिकारवादीलाई परियोजनामा आधारित नभएर साना–ठूला जस्तासुकै घटनालाई पनि मानव अधिकारको दृष्टिकोणबाट हेरेर अधिकारको संरक्षणमा वकालत गर्न अधिकारकर्मीलाई आग्रह गर्नुभयो । अधिकारकर्मीमा पक्षधरता देखिनु, न्याय महंगो हुनुले अधिकार स्थापित हुन नसकेको पनि विष्टको जीकिर छ । न्याय महंगो हुनुमा वकिलहरुको महंगो शूल्क जिम्मेवार रहेको पनि उहाँको भनाइ थियो ।
कार्यक्रममा सञ्चारकर्मी शिवकुमार काशीले मानव अधिकार रक्षकका बारेमा प्रस्तुतीकरण गर्नुभएको थियो । मानव अधिकार रक्षकको परिचय, रक्षकका अधिकार, दायित्व, चुनौतीहरु र कानुनी व्यवस्थालगायत विषयमा उहाँले जानकारी दिनुभयो । कार्यक्रममा गैरसरकारी संस्था महासंघका केन्द्रीय सचिव बुद्धशरण लामा, इन्सेक बागमती प्रदेश संयोजक गणेश भण्डारी, विभिन्न संघसंस्थाका प्रतिनिधि र पत्रकारहरुको उपस्थिति रहेको थियो ।