नेकपा एमालेको शुभकामना आदानप्रदान कार्यक्रम ।

हेटौंडाः आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको प्रतिस्पर्धामा एकल बहुमत ल्याउन सक्ने पार्टी नेकपा एमाले मात्र भएको पार्टीका केन्द्रीय सदस्य तथा मकवानपुर ईन्चार्ज रामेश्वर रानाले बताउनु भएको छ । नेकपा एमाले हेटौंडा वडा नम्बर १६ कमिटीद्वारा आयोजित चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै रानाले राष्ट्रियताको रक्षा, लोकतन्त्र सुदृढीकरण, विकास, समृद्धि, सुशासन, शान्ति र स्थिरता एउटा पार्टीको बहुमतबाट मात्र सम्भव हुने बताउनुभयो ।

उहाँले आगामी निर्वाचनमा नेकपा एमालेका उम्मेद्वारले जित्नु अपरिहार्य रहेको स्पष्ट पार्नुभयो । विभिन्न चार्डपर्वको अवसरमा आयोजित चियापान तथा शुभकामना आदानप्रदानले सामाजिक सद्भाव, भाईचारा र एकआपसमा समधुर सम्बन्ध विस्तारमा सघाउ पुर्याउने बताउनु भएको छ । कार्यक्रममा प्रदेश कमिटीका सदस्यहरु कमल विष्ट, दिलबहादुर घिसिङ्ग, जिल्ला कमिटी सचिव नवीन सिग्देल, जिल्ला सचिवालय सदस्यहरु सुनिल मुक्तान, सुमित्रा काफ्ले, राजन थापा लगायतको उपस्थिति रहेको थियो । पार्टी वडा अध्यक्ष सागर बास्तोलाको अध्यक्षतामा कार्यक्रम भएको हो ।