हेटौंडा ९ मा निर्माण गरिएको दुर्गा मन्दिर ।

हेटौंडाः हिन्दू नेपालीहरुको मुख्य चाड दशैंको नवरात्रको चौथो दिन आज बिहीबार कुष्माण्डाको पूजा आराधना गरिँदैछ । आश्विन शुक्ल चतुर्थी तिथिमा पर्ने नवरात्रको चौथो दिन आठवटा हात भएकी कुष्माण्डा भगवतीको पूजा आराधना गरिँदैछ । नवदुर्गामध्येकी एक कुष्माण्डाको सातवटा हातमा क्रमशः कमण्डलु, धनुष, वाण, कमलपुष्प, अमृतपूर्ण कलश, चक्र तथा गदा र आठौं हातमा जपमाला रहेको छ ।

आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म १५ दिन दशैं मनाइन्छ । यसवर्षको दशैं गत सोमबार घटस्थापनाबाट सुरु भएको हो । घटस्थापनका दिन हरेक घरको पूजाकोठा तथा शक्तिपिठहरुको जमरा घरमा घटस्थापना गरेर जमरा राख्दै दशैं भित्र्याइने गरिन्छ । प्रतिपदा तिथिमा पर्ने घटस्थापनाका दिन शैलपुत्री, द्वितीयाका दिन ब्रह्मचारिणी, तृतीयाका दिन चन्द्रघण्टाको पूजा आराधना गरिएको छ । भोलि शुक्रबार नवरात्रको पाँचौं दिन आश्विन शुक्ल पञ्चमीमा शक्ति स्वरुपा भगवती स्कन्दमाताको पूजा आराधना गरिन्छ ।

दशैंको नवरात्रभर घरघरमा नवदुर्गाको पूजा आराधना गर्नुका साथै विभिन्न शक्तिपिठको दर्शन गरिन्छ । देशका विभिन्न भागमा रहेका शक्तिपिठहरुमा श्रद्धालु भक्तजनको विशेष भिड लाग्ने गर्दछ । हेटौंडामा रहेका भूटनदेवी, चुरियामाई, राजदेवी, मनकामना, पाथीभरा, दक्षिणकाली, वनस्खण्डी, बगलामुखी, नवदुर्गा मन्दिरलगायत शक्तिपिठहरुमा नवरात्रभर भक्तजनको घुइँचो लाग्ने गर्दछ ।