फाइल तस्बिरः हेटौंडा उपमहानगरपालिका नगर कार्यपालिकाको कार्यालय ।

हेटौंडाः हेटौंडा उपमहानगरपालिकाको अधिकांश सामुदायिक विद्यालयमा प्रथम त्रैमासिक परीक्षा सञ्चालन भइरहेको छ । विगत २० वर्षदेखि हेटौंडामा नगरस्तरीय परीक्षा सञ्चालन हुँदै आएको भए पनि पछिल्लो समय प्रश्नपत्र र परीक्षा समयमा एकरुपता ल्याउनका लागि मात्र नगरस्तरीय परीक्षा सञ्चालन हुने गरेको पाइएको छ ।

नगरस्तरीय शैक्षिक समन्वय समिति हेटौंडाले सञ्चालन गर्दै आएको नगरस्तरीय परीक्षामा यस्तो पाइएको हो । विगतमा परीक्षाको प्रश्नपत्र निर्माण गर्ने, उत्तरी पुस्तिका व्यवस्थापन गर्ने, उत्तरपुस्तिका परीक्षण गराउने, नतिजा तयार पार्ने र नतिजाको तुलनात्मक मूल्यांकनसमेत समितिले गर्दै आएको थियो । पछिल्लो केही वर्षदेखि समितिले प्रश्नपत्र निर्माण गर्ने, उत्तरपुस्तिका व्यवस्थापन गर्ने र परीक्षाको समयतालिका तोक्नेबाहेकका अन्य कार्यहरु गर्ने गरेको छैन ।

तत्कालीन हेटौंडा नगरपालिकाका ११ वटा वडाभित्रका सामुदायिक विद्यालयको शैक्षणिक क्रियाकलाप, परीक्षा र मूल्यांकन पद्दतिमा एकरुपता ल्याउने उद्देश्यले नगरस्तरीय शैक्षिक समन्वय समिति गठन गरिएको थियो । समितिले तत्कालीन नगरपालिकाका सबैजसो सामुदायिक विद्यालयमा वार्षिक पाठयोजना वितरण गरेर पठनपाठनदेखि परीक्षा र नतिजा प्रकाशनको काम गर्ने गरेको समिति अध्यक्ष सागरप्रसाद खतिवडाले जानकारी दिनुभयो । सबै विद्यालयको पठनपाठन, परीक्षा, मूल्यांकनमा एकरुपता कायम हुँदा विद्यालयहरुको शैक्षिक गुणस्तर मापनमा सहज हुने गरेको उहाँले बताउनुभयो । पछिल्लो समय कोभिड–१९ को महामारीका कारण विद्यालयहरुको पठनपाठनमा एकरुपता कायम नभएपछि एउटै प्रश्नपत्रबाट परीक्षा सञ्चालनमा समस्या भएको उहाँको भनाइ छ ।

गत मंगलबारदेखि नगरस्तरीय प्रथम त्रैमासिक परीक्षा सुरु भएको छ । हेटौंडा उपमहानगरपालिकामा रहेका ७० भन्दा बढी सामुदायिक विद्यालयमध्ये समितिले निर्माण गरेको प्रश्नपत्र र समयतालिकाअनुसार ३७ वटा विद्यालयमा परीक्षा सञ्चालन भइरहेको समिति अध्यक्ष खतिवडाले बताउनुभयो । समितिले कक्षा ४ देखि १० सम्मका विषयगत प्रश्नपत्र निर्माण गरेर विद्यालयलाई उपलब्ध गराउँदै आएको उहाँले जानकारी दिनुभयो ।

समिति मातहत रहेर परीक्षा सञ्चालन भइरहेका विद्यालयहरुमा कक्षा ४ देखि १० सम्मका करिब ७ हजार ५ सय विद्यार्थी परीक्षामा सामेल भएका छन् । कक्षा ४ मा ७ सय ३४ जना, कक्षा ५ मा ९ सय ३२ जना, कक्षा ६ मा १ हजार १ सय ६१ जना, कक्षा ७ मा १ हजार १ सय ६९ जना र कक्षा ८ मा १ हजार २ सय ३७ जना विद्यार्थी परीक्षामा सहभागी छन् । यस्तै, कक्षा ९ मा १ हजार १ सय ९१ र कक्षा १० मा १ हजार ३१ जना विद्यार्थी परीक्षामा सहभागी भइरहेको अध्यक्ष खतिवडाले जानकारी दिनुभयो ।

कक्षा ४ र ५ को प्रथम त्रैमासिक परीक्षा बुधबार सम्पन्न भएको छ भने कक्षा ६, ७ र ९ को परीक्षा बिहीबार सम्पन्न भएको छ । कक्षा ८ र १० को परीक्षा भने आज शुक्रबारसम्म सञ्चालन हुने अध्यक्ष खतिवडाले जानकारी दिनुभयो । परीक्षाका उत्तरपुस्तिका सम्बन्धित विद्यालयका शिक्षकले नै परीक्षण गर्ने भएकाले समितिले त्यसको तथ्यांक राख्ने नगरेको उहाँको भनाइ छ ।