Home अर्थ/व्यापार ग्रामीण महिला सेवा केन्द्रमा स्याङ्तान

ग्रामीण महिला सेवा केन्द्रमा स्याङ्तान

हेटौंडाः ग्रामीण महिला सेवा केन्द्र मकवानपुरको अध्यक्षमा सुलोचना स्याङ्तानलाई सर्वसम्मत चयन गरिएको छ । सोमबार केन्द्रको २१ औं साधारणसभा तथा ९ औं अधिवेशनबाट स्याङ्तानको नेतृत्वमा ९ सदस्यीय कार्यसमिति चयन गरिएको हो ।

केन्द्रको उपाध्यक्षमा लक्ष्मी मोक्तान, कोषाध्यक्षमा देवकी चौलागाईं, सचिवमा अचला शर्मालाई चयन गरिएको छ । यस्तै सदस्यहरुमा सीता दाहाल, लक्ष्मीमाया थिङ, सरिता सापकोटा, पञ्चमाया स्याङ्तान र एलिजा पुडासैनीलाई चयन भएका छन् । लेखा समितितर्फ लेखा संयोजकमा मेनुकाकुमारी न्यौपाने, सदस्यहरुमा लक्ष्मी रिमाल र चित्रा रेग्मीलाई चयन गरिएको छ ।

केन्द्रकी अध्यक्ष उर्मिला कार्कीको सभाध्यक्ष तथा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललितकुमार घलानको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । कार्कीले ग्रामीण महिला सेवा केन्द्र ग्रामीण महिलाहरुकै पहल तथा नेतृत्वमा वि.स. २०५९ साल असार ११ गते स्थापना भएको एक गैरसरकारी संस्था रहेको बताउनुभयो ।

तत्कालीन ३८ वटा गाविसहरुमा महिला सहकारीको माध्यमबाट महिला, बालबालिका, दलित, जनजाति तथा पिछडिएका जातजातिहरुको सामाजिक, आर्थिक, राजनैतिक तथा वातावरणीय सशक्तीकरणको क्षेत्रमा कार्यक्रम सञ्चालन गर्दै आएकोमा केन्द्रले हाल ३ वटा गाउँपालिका तथा एउटा उपमहानगरपालिकामा प्लान इन्टरनेशनल नेपालको साझेदारीमा कार्यक्रम सञ्चालन गरिरहेको छ । जिल्लाको बागमती, मकवानपुरगढी, मनहरी गाउँपालिका र हेटौंडा उपमहानगरपालिकामा लिड एण्ड डिसाइड कार्यक्रम सञ्चालन भइरहेको उहाँले जानकारी दिनुभयो ।

केन्द्र स्थापना भएको करिब २० वर्षको अवधिमा धेरै विकास तथा परिवर्तन भएको उहाँको भनाइ छ । एउटा सहकारीले औसत २० करोड रुपैयाँभन्दा बढी कारोबार गर्न थालेको उहाँले बताउनुभयो । सामाजिक परीक्षण, सहकारी एकीकरणको प्रक्रिया, शतप्रतिशत घरधुरीका महिलाहरू सहकारीमा आवद्धता, नागरिक घुम्ती शिविर, लैंगिक हिंसामुक्त क्षेत्र घोषणाको अभियान कार्य गरेको उहाँले जानकारी दिनुभयो ।

यस्तै, बालविवाह न्यूनीकरणका लागि सहजीकरण, बालबालिका, किशोरकिशोरीहरुको नेतृत्व र स्वनिर्णय क्षमताको विकास, स्थानीय स्रोत परिचालनजस्ता उल्लेखनीय कार्यहरु गर्न सफल भएको उहाँको भनाइ छ । कोरोना महामारीको समयमा अरनिको माध्यमिक विद्यालयमा नमुना सिओसी कक्षाका लागि ३ लाख ४५ हजार रुपैयाँ बराबरको सामग्री प्रदान गरेको उहाँले बताउनुभयो । आगामी आर्थिक वर्ष २०७९/०८० मा कार्यक्रम र साझेदारी विस्तारलगायत संस्थाको संस्थागत काम कारवाहीलाई तिव्रताका साथ अगाडि बढाउन विभिन्न योजनाहरु कार्यान्वयनका लागि रणनीतिक योजना समावेश गरिएको उहाँको भनाइ छ ।

जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख घलानले महिलाहरुले नेतृत्व गरेको संस्थाले सार्थकता पाएको बताउनुभयो । ग्रामीण महिला सेवा केन्द्रसँग अनुगमन तथा कार्यक्रममा समन्वय गर्ने उहाँले बताउनुभयो ।

१ करोड १७ लाख ७ हजार ३ सय १ रुपैयाँ आय र १ करोड १८ लाख ७३ हजार ४ सय ६५ रुपैयाँ व्ययको विवरण केन्द्रका कोषाध्यक्ष सुलोचना स्याङ्तानले प्रस्तुत गर्नुभयो । संस्थाका उपाध्यक्ष मेनुका घिमिरेले स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष भागवती पुडासैनी, हेटौंडा–५ का वडा सदस्य रञ्जिता सिलवाल, गैसस महासंघका उपाध्यक्ष रमिला सापकोटा, शर्मिला महत, पर्वती राना, दीपक न्यौपानेलगायतको उपस्थिति थियो ।

Exit mobile version